‘नेपाल–भारत सीमामा तारजाली हैन, भद्र व्यवहार आवश्यक’
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३२ जेठ ।
नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बल (एपीएफ) ले जाँचका निहुँमा देशपार व्यवहार गर्ने दुवै देशका जनताले सास्ती भोगिरहेका र यसले दुवै देशबीचको सदियौँदेखिको रोटीबेटीको सम्बन्ध प्रभावित भइरहेको एक कार्यक्रमका वक्ताहरूले निचोड निकालेका छन् ।
नेपाल–भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सीमा सुरक्षा तथा व्यवस्थापनको अवैज्ञानिक तथा अव्यवहारिक शैलीले गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीहरूबाट आवतजावत गर्नेहरूले कष्ट र झमेला भोग्नुपरिरहेको गुनासो गरे ।
संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले अवैध र अनुचित कार्य रोक्ने नाउँमा दुवै देशबीच व्यक्तिगत, सामाजिक, साँस्कृतिक र धार्मिक व्यवहार गर्नेहरूलाई सीमामा दुःख दिने काम भएको बताए । उनले अनाहकमा दुःख दिने काम भइरहँदा दुईदेशीय सम्बन्ध नै खललमा पर्ने चेतावनी दिए ।
अध्यक्ष झाले भने, ‘खुला सीमाका कारण हुने तस्करी, लागुऔषध ओसापसार लगायत अन्य अपराध प्रहरी प्रशासनले नियन्त्रण गर्न सक्छ । तर, यसतर्फ प्रहरी प्रशासनको ध्यान हुँदैन । तस्करलाई रोक्नुको सट्टा सुरक्षाकर्मीहरूले दुवै देशका सामान्य नागरिकलाई मात्र दुःख दिन्छ ।’
सर्वसाधारणसँग सीमाक्षेत्रमा असल व्यवहार गर्न दुवै देशका सरकारले सुरक्षाकर्मीलाई निर्देशन दिनुपर्ने उनले बताए ।
तस्करीलगायत सीमापार अपराध रोक्न सीमामा तारजाली लगाउनुु समस्याको समाधान नरहेको भन्दै अध्यक्ष झाले खुला सीमालाई वैज्ञानिक पद्धतिबाट व्यवस्थित गर्न सकिए दुव देशको सम्बन्ध प्रगाढ भइरहने उनले बताए ।।
देशमा आर्थिक संकटका बेला एक हजार सात सय ५१ किलोमिटर खुला सीमामा तारजाली गर्नु उचित नहुने उनले भनाइ छ ।
भारतीय कम्युनिस्ट पार्टी मालेका नेता भूषण सिंहले खुला सीमा व्यवस्थपनका लागि अभियान चलाउनुपर्नेमा जोड दिए । सीमा सुदृढीकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले सम्बन्धमा थप तिक्तता उत्पन्न हुने उनले बताए ।
वरिष्ठ पत्रकार ललित झाले दुवै देशका जनतालाई आफ्ना मावली आउनजान पनि अपमान झेल्नुपर्ने र कर तिर्नुपर्ने स्थिति रहेको भन्दै यस्तो समस्या दुर्भाग्यपूर्ण र छिटो समाधान गर्नुपर्ने रहेको बताए ।
सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादव सीमासम्बन्धी कानुन र नीति सुधार आवश्यक रहेको बताए । दुवै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनीकरण गर्दै सुमधुर सम्बन्ध अनुकूल बनाउनुपर्ने धारणा उनले व्यक्त गरे ।
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनीकरणका विषयमा विचार गर्दै खुल्ला सीमाबारे मन्थन हुनुपर्र्ने आवश्यक्ता रहेको औंल्याए ।
कार्यक्रममा संस्थाका सचिव अनिल सिंह र मधेश प्रदेश सहसंयोजक दिपक यादव, जयनगर चेम्बर अफ कमर्सका सचिव अनिल बरौलिया, विष्णुबाबु सिंह, रामकिशोर महतोलगायतका व्यक्तिले आआफ्ना धारणा व्यक्त गरेका थिए ।