जटही–पिपरोन पुल बनाउन निधिले लिए चासो
टोलपडोस समाचारदाता
जनकपुरधाम, १ माघ ।
धनुषाको दक्षिणी सीमामा नेपाल–भारत जोड्ने पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले रोक लगाएको विषयमा नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गम्भीर चासो लिएका छन् । आइतबार जटही नाका पुगेर नेता निधिले जटही–पिपरोन जोड्ने पुल निर्माण सुचारु गर्नेबारे एसएसबी अधिकारी र दुवै देशका स्थानीयसँग संवाद गरेका हुन् ।
जटही–पिपरोन जोड्ने पुरानो फलामे पुल भत्किएपछि आवतजावतका लागि केही वर्षअगाडि त्यहाँ नयाँ पुल बनाइएको छ । तर, जनकपुर–जटही छ लेनको सडक बनेपछि पुलको चौडाइ बढाउन लागिएको बेला पछिल्लोपटक एसएसबीले रोक लगाएको हो ।
निर्माणाधीन पुल दसगजा क्षेत्रमा बनाउन लागिएकाले निर्माण कार्य अघि बढ्न नदिइएको एसएसबीका अधिकारीहरूको भनाइ छ । उनीहरूले पुलक्षेत्रमा हराइरहेको सीमास्तम्भ रहेको र सीमास्तम्भ वरपर दस मिटरसम्म कुनै पनि किसिमका निर्माण गर्न नहुने प्रावधानअनुसार नै रोक लगाइएको प्रस्टीकरण दिँदैआएका छन् ।
नेता निधिले आइतबार सीमाक्षेत्रमा निर्माणाधीन पुलको अवलोकन गर्दै निर्माण कार्य रोकिएका विषयमा भारतीय सीमा सुरक्षा बलका स्थानीय अधिकारीसँग जानकारी लिएका छन् । उनले दूतावासका राजनीतिक सचिव नवीनकुमारलाई उद्धृत गर्दै दिल्लीस्थित एसएसबी मुख्यालयले पुल निर्माण कार्यमा एसएसबीले अवरोध नगरेको जनाएको सुनाए । तर, एसएसबीका स्थानीय अधिकारीले त्यसबारे आफूलाई आधिकारिक जानकारी नभएको र माथ्लो निकायबाट त्यससम्बन्धी सोधपुछ नभएको जानकारी नेता निधिलाई गराए । एक एसएसबी अधिकारीले भने दसगजा क्षेत्रमा पुल निर्माण भइरहेकाले आफूहरूले रोक लगाएको र नेपालस्थित भारतीय दूतावास वा अन्य भारतीय निकायबाट लिखित आदेश नआएपछि निर्माण कार्य अघि बढ्न दिइने बताए ।
जटही–पिपरोन सडक नेपाल–भारत जोड्ने २८ व्यापारिक मार्गमध्येको एक हो । नेता निधिले दसगजा क्षेत्रमा निर्माण गर्न नसकिए नेपालको पूर्वी भेगको काँकडभिट्टादेखि पश्चिम कञ्नचपुरसम्मको भूभागबाट नेपाल–भारत आवागमन अवरुद्ध हुने बताए । भारतीय क्षेत्र पिपरोनका स्थानीय अनिल सिँहले पुल बन्नुपर्ने र पुल निर्माणमा लगाइएको रोक हटाउन आफूहरूले एसएसबीका डिआइजीसमेतलाई दबाब दिएको उल्लेख गरे ।
पुल अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता निधिले यसअघिको जटही–पिपरोन जोड्ने पुल निर्माणका बेला समेत भारतीय पक्षले आपत्ति जनाएको तर दुवै देशका सीमावर्ती क्षेत्रका जनताबीच सहमति भई पुल बनेको बताए । उनले अहिलेकै लम्बाइमा चौडाइमात्र थपेर पुल निर्माण गरिने हुँदा छिट्टै समस्या समाधान हुने उल्लेख गरे । नेता निधिसँग प्रदेशसभा सदस्य रामसरोज यादव, नगराइन नगरपालिकाका मेयर रामविनय यादव, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवलगायत जटही नाकामा पुगेका थिए ।