भारतद्वारा नेपालका स्वास्थ्यसंस्था ४० एम्बुलेन्स उपहारस्वरूप प्रदान

एम्बुलेन्सको उपहार भारत र नेपालबीचको निकै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा : नियोग उपप्रमुख श्रीवास्तव

२०८२ जेष्ठ ३१, शनिबार १९:३७

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३१ जेठ ।
भारत सरकारले शनिबार नेपालका विभिन्न जिल्लास्थित स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावास र पोखरा तथा धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयहरूसहित चार स्थानमा एकैसाथ आयोजना गरिएको सवारीसाधन हस्तान्तरण समारोहमा ती एम्बुलेन्स प्रदान गरिएको हो ।

नेपालका ७ वटै प्रदेशका ३३ वटा जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको छ । तीमध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको छ । साथै, भारत सरकारका प्रतिनिधिहरूद्वारा वीरगंञ्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सवारीसाधनहरूको चाबी हस्तान्तरण गरेका छन् । कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू र समाजसेवीहरू उपस्थित थिए ।

कार्यक्रममा नियोग उपप्रमुखले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई मजबुत बनाउन नेपाल–भारत विकास साझेदारीअन्तर्गत उपहारस्वरूप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक रहेको बताए । उनले यो पहल भारत र नेपालबीचको निकै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा रहेको जुन विगत सात दशकमा झनै विस्तार भएको, गहिरिँदै गएको र विविधताले भरिएको स्पस्ट पारे ।

कार्यक्रममा नियोग उपप्रमुखसँगको अन्तरक्रियामा लाभार्थीहरूले उनीहरूका जिल्ला र नेपालमा हाल सञ्चालनमा रहेका विभिन्न विकास परियोजनाहरूमा भारतको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनीहरूले नयाँ उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सहरूले आआफ्ना क्षेत्रमा स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

वीरगञ्ज, पोखरा र धरानका लाभार्थीहरूले पनि यस्तै भावना व्यक्त गरे ।

भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नेपालका विभिन्न भागहरूमा रहेका विभिन्न लाभार्थी संस्थाहरूलाई तीन दशकभन्दा बढी समयदेखि एम्बुलेन्स उपहारस्वरूप प्रदान गर्दै आएको छ ।

सन् १९९४ यता आज उपहारस्वरुप प्रदान गरिएका एम्बुलेन्ससहित भारत सरकारले नेपालभरि १०४९ एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । अन्य अवसरमा पनि नेपाल सरकारलाई यस्तै खाले सवारीसाधन सम्बन्धी लजिस्टिक सहयोग प्रदान गरिएको छ । आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।

सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र नेपालको निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिएको थियो । हालसालै मे २०२५ मा ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन उपहारस्वरूप प्रदान गरिएको थियो ।

भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस्ता बन्दोबस्तीका व्यवस्थाहरूको विस्तारले नेपालको विकास र दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्न भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

फोटो फिचर

 

 

 

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH