प्रदेश सरकारबाट जनमतका मन्त्री बर्खास्त गर्दै मुख्यमन्त्री
सरकारमा बस्ने रहर छैन : मन्त्री यादव
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ माघ ।
मधेश प्रदेश सरकार र खासगरी प्रादेशिक सत्ताको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी(जसपा) विरुद्ध आक्रमक बनेको जनमत पार्टीका मन्त्रीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गर्ने भएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भनेमा जनमत पार्टीलाई सरकारबाट बाहिरको बाटो देखाउने बताए ।
उनले भने, “गठबन्धनले भने आजै जनमतका मन्त्री निकाल्छु । नभए माघ ११ गतेपछि निकाल्छु नै ।”
माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमत अध्यक्ष सिके राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन् ।
मधेश प्रदेश सरकारमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिँह छन् ।
उनले गत माघ ३ गते बलिदानी दिवसका दिन प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले निर्लज्जतापूर्वक प्रदर्शन गरेको बताए ।
जनमतका तर्फबाट सरकारमा सहभागी मन्त्रीसमेत सामेल रहेका गत माघ ३ गतेको कार्यक्रममा जनमत कार्यकर्ताहरू प्रदेश सरकार भ्रष्ट रहेको भन्दै प्रदर्शन गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री यादवले सरकारमा सहभागी पनि हुने र सरकारलाई भ्रष्ट भन्ने जनमत पार्टीका मन्त्रीहरूलाई सरकार छाड्न भनेका थिए ।
मुख्यमन्त्री यादवले सप्तरीमा कृषि विश्वविद्यालय शिलान्यास हुने अघिल्लो दिन आज जनमतका मन्त्रीकै अगुवाइमा डिन र रजिस्ट्रारसँग दुर्व्यवहार गरिएको र विश्वविद्यालयमा तालाबन्दी गरिएको भन्दै यस्तो उपद्रवी कार्य गर्ने सरकारमा सहभागी दललाई बर्दाश्त गर्न नसकिने उल्लेख गरे ।
यता मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री एवम् जनमतका नेता यादवले सरकारमा बस्ने रहर आफूहरूलाई नभएको बताए । उनले आफूहरूले सरकारको नभई सरकारमा विद्यमान गलत प्रवृत्तिको विरोध गरिरहेको प्रस्ट पारे ।
उनले शिलान्यासपूर्व कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बोलाएर सहमतिका आधारमा शिलान्यास कार्यक्रम आयोजना गर्न भनेको बताए ।
उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सो कार्यक्रमको प्रमुख अतिथि बनाएर दलीय कार्यक्रम गर्न खोजिएको आरोप लगाए ।
मन्त्री यादवले भने, “कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री आफैँ भए वा गृहक्षेत्रका प्रदेशसभा सदस्य भएकाले म नै भए सुहाउँथ्यो । तर, विश्वविद्यालय भएको क्षेत्रबाट पराजित खास पार्टीका नेतालाई सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाउनु भनेकै दलको कार्यक्रम गर्नु हो । सरकारले दलका लागि कार्यक्रम गर्ने होइन ।”
उनले कृषि विश्वविद्यालय स्थापनामा भूमिका निर्वाह गरेका जसपा अध्यक्ष यादवलगायत अन्य दलका नेताहरूलाई आफूहरूले कार्यक्रममा सम्मान गर्न सकिने बताएको उल्लेख गरे ।