“रोक शिलान्यास, सहमति गर”
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ माघ ।
मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयले कृषि विश्वविद्यालय राजविराजलाई सोमबारका लागि निर्धारित भवन शिलान्यास कार्यक्रम स्थगित गर्ने निर्देशन दिएको छ । प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री महेशप्रसाद यादवले भवन शिलान्यास स्थगनका लागि विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिइएको जानकारी दिए ।
मधेश प्रदेशसभाबाट पारित ऐनमार्फत प्रदेश कृषि विश्वविद्यालय सप्तरीको राजविराजमा स्थापना भएको हो । गत २०७८ सालमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतका पालामा प्रदेश सरकारले अध्यादेशबाट सो विश्वविद्यालय गठन गरेको थियो भने २०७९ सालमा अध्यादेश प्रतिस्थापन ऐन पारित भएको थियो ।
ऐनमा प्रदेशको मुख्यमन्त्री विश्वविद्यालयका कुलपति र शिक्षासम्बन्धी विषय हेर्ने मन्त्री सहकुलपति रहने व्यवस्था छ । कुलपति र सहकुलपतिले विश्वविद्यालयलाई निरीक्षण तथा निर्देशन दिनसक्ने कानुनमा उल्लेख छ । विश्वविद्यालयको सबैभन्दा माथ्लो निकाय विश्वविद्यालय सभा(सिनेट) का अध्यक्ष सहकुलपति अर्थात् शिक्षासम्बन्धी विषय हेर्ने मन्त्री रहने प्रावधान छ ।
विश्वविद्यालय सिनेटका अध्यक्षसमेत रहेका मन्त्री यादवले आफ्नो सहमतिबेगर कार्यक्रम गर्नु भनेको विवाद निम्त्याउनु हो भन्दै कार्यक्रम नरोकिए कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी मन्त्रालयल नभएर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिनुपर्ने एक विज्ञप्तिमार्फत जनाएका छन् । उनले विश्वविद्यालयमा हुने कार्यक्रमका विषयमा सिनेट अध्यक्षलाई जानकारी नदिइनु दुर्भाग्यपूर्ण भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
टोलपडोससँग कुरा गर्दै मन्त्री यादवले सरकार मातहतको विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कुरा अस्वीकार्य भएको बताए । विश्वविद्यालय प्रशासनले शिलान्यास कार्यक्रमका प्रमुख अतिथिका रूपमा जसपा अध्यक्ष यादवलाई निम्तो गरेको छ । राजविराजसमेत रहेको निर्वाचन क्षेत्रबाट अघिल्लो संसद्मा निर्वाचित हुँदा अध्यक्ष यादवले कृषि विश्वविद्यालय लगायतका कामका लागि जोडबल गरेका थिए ।
मन्त्री यादवले जसपा नेतृत्वको अघिल्लो सरकारले विश्वविद्यालय स्थापना गरेको र जसपा अध्यक्ष यादवको योगदान अवमूल्यन गर्न नखोजेर आफूहरूले पछिल्लो आम निर्वाचनमा सप्तरीबाट फराकिलो अन्तरले पराजित यादवलाई विश्वविद्यालयको कार्यक्रमका प्रमुख अतिथि बनाउनु गलत रहेको जिकिर गरिरहेको टिप्पणी गरे ।
उनले विश्वविद्यालय भवन निर्माणको टेन्डर सम्झौतासमेत नभएको अवस्थामा शिलान्यास हुन थालेको खुलासा गरे । उनले भने, “प्रधानमन्त्री, मुख्यमन्त्री, जग्गादाता, सहिद परिवारका सदस्य आदिबाट शिलान्यास गराउने सम्भावना हुँदाहुँदै पनि जबर्जस्ती गर्न थालिएकाले जनमत पार्टी विरोधमा उत्रेको छ ।”
शिलान्यास रोक्न भन्दै जनमत पार्टीका कार्यकर्ताहरूले राजविराजस्थित विश्वविद्यालयको कार्यालयमा आजै तालाबन्दी गरेका छन् ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह, कानुन तथा सञ्चार मन्त्री मोहम्मद समीमले सोमबारको कार्यक्रमबारे विश्वविद्यालयका कुलपति रहेका मुख्यमन्त्री सरोजकुमार यादवलाई सोध्न भने । उनले कार्यक्रममा सुरक्षा दिने दायित्व सुरक्षा निकायको भए पनि यस्ता कार्यक्रमका लागि सहमतिमार्फत समस्या निराकरण हुनुपर्ने उल्लेख गरे ।