आयोध्यामा रामललाको प्राणप्रतिष्ठा, रौतहटमा हर्षोल्लास
सजाइए मठमन्दिर, सोमबार दियो बालिने
अनिल यादव/टोलपडोस समाचारदाता
रौतहट, ७ माघ ।
भारतको आयोध्यामा हुने भगवान् श्रीरामको प्राणप्रतिष्ठाको अवसरमा रौतहटमा भगवान् राममय वातावरण भएको छ ।
सयौं वर्षको अन्तरालपछि आयोध्यामा निर्माण भएको राम मन्दिरमा २२ जनवरी अर्थात् माघ ८ गते गर्भगृहमा भगवान् रामको प्राणप्रतिष्ठा हुने भएकाले भारत तथा नेपालका विभिन्न ठाउँमा रहेका रामजानकी मन्दिरलाई सजाइएको छ । ती मन्दिरहरू भएका ठाउँमा रामनामका गीतसंगीत गञ्ंजयमान भइरहेकाले राममय वातावरण बनेको हो ।
हिन्दु धर्मावलम्बीहरूले रौतहटलगायत बारा, पर्सा, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी र छिमेकी मुलुक भारतको विहार राज्यका विभिन्न ठाउँमा प्राणप्रतिष्ठाको अवसर पारेर मठमन्दिरलाई आकर्षक ढंगले सजाइएको छ भने ठाउँठाउँमा जय श्रीरामको झन्डा लगाइएका कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् ।
मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तन समेत आयोजना भइरहेको छ । सोमबार बेलुकी घरघरमा दीपावली गर्नका लागि विश्व हिन्दु परिषद् नेपालले आह्वानसमेत गरेको छ ।
भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातन धर्मावलम्बी धेरै नै हर्षित भएको स्थानीय दीपक केसरीले बताए । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले रामललाको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गर्ने तयारी गरिएको गौर नगरपालिका ४ निवासी ओमप्रकाश साहले बताए ।
रौतहटका गौर नगरपालिका, ईशनाथ नगरपालिकाको औरैया, परोहा नगरपालिकास्थित राममन्दिरमा हुन गइरहेको प्राणप्रतिष्ठाको अवसरमा भव्य कलश शोभायात्रा समेत निकालिएको छ ।