जनमत पार्टीले मतदाता धम्क्याइरहेको प्रदेश काँग्रेसको आरोप

२०८० माघ ७, आईतवार २२:३८

“स्थानीय तह नेतृत्वलाई जनमत पार्टीले हाकिम सरुवाको घुर्की लगाउँदैछ”

टोलपडोस समाचारदाता
रौतहट, ७ माघ ।
नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले राष्ट्रियसभा निर्वाचन प्रभावित गर्न जनमत पार्टीले मतदाता रहेका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सत्ताको घुर्की देखाइरहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा राष्ट्रियसभा निर्वाचनलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख एवम् उपप्रमुखका लागि जनकपुरधाममा आइतबार आयोजना गरिएको अभिमुखीकरणमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रदेश काँग्रेस सभापति यादवले सो आरोप लगाएका हुन् ।

सभापति यादवले सङ्घ सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर सम्मिलित जनमत पार्टीले आफ्ना उम्मेदवारलाई मत दिए अनुकूलको प्रमुख प्रशासकीय अधिकृत पठाइदिने वा मत नदिए समन्वय गरेर काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता बोलाइदिने धम्की दिइरहेको जानकारी दिए ।

सङ्घीय सत्ता गठबन्धनमा सम्मिलित जनमत पार्टीका तर्फबाट सङ्घ सरकारमा अनिता साह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्ने मन्त्रालय हो ।

राष्ट्रियसभा निर्वाचनमा जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै उम्मेदवार दिएका छन् । कर्मचारी सरुवा गर्ने प्राधिकार बोकेको मन्त्रालयको आडमा जनमत पार्टीले मतदाता रहेका स्थानीय तहका जनप्रतिनिधिलाई सशर्त मत दिन दबाब दिइरहेको यादवको आरोप छ । यादवले भने, ‘गठबन्धन सरकारमा सामेल जनमत पार्टीले सत्ताको दुरुपयोग गरिरहेको छ ।

मन्त्री यादवले कार्यक्रममा मधेश प्रदेशबाट गठबन्धनका राष्ट्रियसभा सदस्य उम्मेदवार दरो राजनीतिक पृष्ठभूमि भएका काँग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना र पारिवारिक राजनीतिक संस्कारमा हुर्किएकी जसपाकी पूजा चौधरीलाई विजय बनाउन आह्वान गरे ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH