कडा सुरक्षाबीच उपेन्द्र यादवले सप्तरीमा कृषि विश्वविद्यालयको जग हाल्दै
टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ माघ ।
सत्तारुढ दल जनमत पार्टी र जनता समाजवादी पार्टी(जसपा) का कार्यकर्ताहरूबीच कडा सङ्घर्ष हुने आकलनका बीच सोमबार मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास सप्तरीमा हुँदैछ ।
राजविराज नगरपालिका–१३ विसहरियामा निर्माण हुनलागेको विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा ल्याब भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने भएपछि जनमत पार्टीले त्यसविरुद्ध ठाउँठाउँमा प्रदर्शन गरिरहेको छ ।
जसपा अध्यक्ष यादवले प्रदेश गौरवको सरकारी योजना शिलान्यास गर्ने आधार र औचित्य नभएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरूले आइतबार विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका थिए ।
विश्वविद्यालय सभा (सिनेट) का अध्यक्ष रहेका मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री महेशप्रसाद यादवले आइतबार नै विज्ञप्ति जारी गरी शिलान्यास रोक्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिइएको जनाएका थिए ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका उनले शिलान्यास नरोकिए उत्पन्न हुने कुनै किसिमका अप्रिय घटनाका जिम्मेवार विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विश्वविद्यालयका रजिस्ट्रार एसबी ठाकुरले जसपा अध्यक्ष यादवसँगै मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा सँस्कृति मन्त्री महेशप्रसाद यादवले संयुक्त रूपमा विश्वविद्यालय भवनको भूमिपूजन गर्ने योजना रहेको जानकारी दिए ।
उनले शिलान्यास कार्यक्रमबाट असन्तुष्ट रहेका शिक्षा तथा सँस्कृति मन्त्री महेशलाई सम्झाइबुझाइ गर्न कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जयकुमार यादव लागिपरेका बताए । “उहाँहरू शिक्षामन्त्रीजीको चित्त बुझाउन कुरा गरिरहनुभएको छ । तर, अहिलेसम्म सकारात्मक परिणाम आएको छैन,” रजिस्ट्रार ठाकुरले भने ।
शिलान्यास कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री यादव, अर्थमन्त्री सञ्जयलगायत जसपासँग आबद्ध नेताहरू राजविराज पुगिसकेका छन् । जसपा अध्यक्ष यादव सप्तरी पुग्नै लागेको सुरक्षास्रोतले जनाएको छ । जनमत पार्टीका नेता र शिक्षा तथा सँस्कृति मन्त्री महेश कार्यक्रममा सहभागी नभए पनि शिलान्यास नरोक्ने मनस्थितिमा मुख्यमन्त्री यादव रहेका छन् ।
जनमत पार्टीका एक स्थानीय नेताका अनुसार विश्वविद्यालय रहेको सङ्घीय र प्रादेशिक चुनाव क्षेत्रबाट निर्वाचित जनमतका जनप्रतिनिधि छन् । अझ त्यस क्षेत्रबाट जनमत अध्यक्ष सिके राउत र शिक्षा तथा सँस्कृति मन्त्री महेश नै निर्वाचित भएका छन् । तर, जसपा नेतृत्वको प्रदेश सरकारले बलजफ्ती त्यस ठाउँबाट अघिल्लोपटक निर्वाचित सङ्घीय सांसद उपेन्द्र यादवले विश्वविद्यालय भवन शिलान्यास गर्नु राजनीतिक र नैतिक रूपमा पुष्टियोग्य नभएको उनको भनाइ छ ।
विश्वविद्यालय रहेको संसदीय क्षेत्रबाट जनमत अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएपछि जसपा अध्यक्ष यादव बाराको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । “सप्तरीमा उपेन्द्र यादवको राजनीतिक वैधता कायम राखिरह्न विश्वविद्यालय भवन शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाइएको हो,” जनमतनिकट एक राजनीतिक विश्लेषकले भने, “यसबाट गृहक्षेत्र भएको सङ्घीय सांसद सिके राउतसँगै जनमतको उपेक्षा भएको छ ।”
तर जसपाका नेताहरूले भने उपेन्द्रकै सङ्कल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएकाले भवन शिलान्यास गर्ने अधिकार पनि उनैलाई रहेको र त्यसअनुरूप नै उपेन्द्रलाई प्रमुख अतिथि बनाइएको प्रस्टीकरण दिइरहेका छन् । जसपाका एक कार्यकर्ताले भने, “कृषि विश्वविद्यालयको बोर्डमात्र झुन्ड्याइएको भनी कटाक्ष गर्ने जनमतका नेताकार्यकर्ता आज विश्वविद्यालय भवन शिलान्यास भइरहँदा आत्तिएका छन् । अर्काले गरेका कामको जस आफैँ लिन उनीहरू विरोधमा उत्रेका हुन् ।”
यता सप्तरी प्रशासनले भवन शिलान्यास हुने क्षेत्रलगायत सप्तरीका विभिन्न संवेदनशील ठाउँमा कडा सुरक्षा व्यवस्था गरेको छ । बिहानैदेखि ठाउँठाउँमा टायर बालेर आन्दोलित जनमत कार्यकर्तामाथि सुरक्षासंयन्त्रले निगरानी बढाएको छ ।
“शिलान्यास स्थलमा हुनस्कने उपद्रो नियन्त्रण गर्न पर्याप्त सँखयामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्यमन्त्रीलगायत अतिविशिष्ठ व्यक्तिहरूको सुरक्षा कडा पारिएको छ,” जिल्ला प्रशासन कार्याल सप्तरीका प्रशासकीय अधिकृत भीमराज बस्नेतले टोलपडोसलाई भने ।
उनले आइतबार भएको जनमत पार्टीसहितको सर्वदलीय बैठक निष्कर्षविहीन बनेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको बताए । सुरक्षा व्यवस्था कडा पार्न मधेशका विभिन्न जिल्लाबाट मगाएर थप सुरक्षाबल तैनाथ गरिएको छ । सुरक्षामा नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीसमेत खटिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले पछिल्लोपटक विकसित परिस्थितिले जसपा र जनमतबीच मुठभेडको सम्भावना बढाएको भन्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । “संवेदनशीलता नअपनाउँदा ठूलो दुर्घटना हुनसक्छ । त्यसैले प्रदेश गौरवको आयोजना अघि बढाउन राजनीतिक दलहरूलाई गम्भीर हुनुपर्छ,” उनले भने ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा एक अर्ब ४९ करोड रुपैयाँ बहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । त्यसअनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३१ करोड पठाइएको छ भने चालू आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कट्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र ल्याब गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।