जिन्दाबादका नाराबीच उपेन्द्र यादवले गरे भवन शिलान्यास

२०८० माघ ८, सोमबार १४:२१
राजविराज नगरपालिकाको वडा नम्बर १३ विसहरियामा मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत । तस्बिर सौजन्य : शिव यदुवंशी

टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ माघ ।
प्रहरी सुरक्षाकर्मी र पार्टी कार्यकर्ताहरूको बाक्लो घेराबीच जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार सप्तरीमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका–१३ विसहरियामा विश्वविद्यालयका प्रशासनिक, शैक्षिक र ल्याब भवन निर्माणको अध्यक्ष यादवले भूमिपूजन गरी शिलान्यास गरेका हुन् ।

शिलान्यास स्थलमा करिब दुई हजार सुरक्षाकर्मी तैनाथ छन् ।

सङ्घ तथा मधेश सरकारमा सम्मिलित जनमत पार्टीले अध्यक्ष यादवबाट हुने शिलान्यासको विरोध गर्दैआएका थिए । मधेश सरकारका शिक्षा तथा सँस्कृति मन्त्री एवम् विश्वविद्यालय सभा(सिनेट) का अध्यक्ष महेशप्रसाद यादवले विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई शिलान्यास कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।

कार्यक्रमका लागि शिलान्यास्थल पुगेका यादवलाई सयौँ सँख्यामा रहेका जसपाका नेताकार्यकर्ताहरूले स्वागत तथा समर्थनमा नारा लगाउँदै भूमिपूजनस्थलसम्म लगेका थिए । यादवले मधेशको धार्मिक र परम्परागत धोती पहिरेर भूमिपूजन गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सञ्जय यादव, महिला, बालबालिका तथा खेलकुद मन्त्री सुरिता साह, जसपा प्रवक्ता मनिष सुमनलगायतका व्यक्तिहरू थिए ।

शिलान्यासक्रममा जनमत पार्टी र जसपाका कार्यकर्ताबीच झड्प हुने आशंका गरिएको थियो । यद्यपि आइतबारको सर्वदलीय बैठकमा जनमत पार्टीले कार्यक्रमको प्रतीकात्मक विरोध मात्र गर्ने जनाएको थियो ।

मधेश प्रदेशसभाबाट ऐन पारित भई स्थापित भएको विश्वविद्यालयका लागि प्रदेश सरकारले आर्थिक वर्ष ०७८÷०७९ मा एक अर्ब ४९ करोड रुपैयाँ बहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । त्यसअनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३१ करोड पठाइएको छ भने चालू आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ ।

विश्वविद्यालयको २६ बिघा आठ कट्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र ल्याब गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH