उपेन्द्रमाथि कटाक्ष गर्दा मन्त्रीका टाउकामा प्रहरीको लाठी

२०८० माघ ८, सोमबार १५:४३

विश्वविद्यालय भवन फेरि शिलान्यास गर्छौँ : मन्त्री यादव

मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विरोध गर्ने क्रममा कार्यक्रम स्थलमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री एवम् जनमत पार्टीका नेता महेशप्रसाद यादव । तस्बिर : शैलेश कर्ण

सुरेन्द्र यादव/टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ माघ ।
मधेस प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री महेशप्रसाद यादवले मधेश कृषि विश्वविद्यालयको भवन फेरि पनि शिलान्यास गर्ने बताएका छन् । सहकुलपतिका रूपमा विश्वविद्यालय सभा (सिनेट) का अध्यक्षसमेत रहेका मन्त्री यादवले जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार गरेको भवन शिलान्यास अवैधानिक रहेको दाबी गरे ।

उनले भने, “प्रहरीको घेराभित्र गरिएको शिलान्यास अमान्य छ । अब सर्वदलीय बैठक बसेर शिलान्यासका कार्यक्रम तय गर्नेछौं ।”

विश्वविद्यालय भवन शिलान्यास गर्न भूमिपूजन स्थलतर्फ अघि बढिरहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई कटाक्ष वाक्य लेखिएको स्वागत ब्यानर देखाउने क्रममा प्रहरीको लाठी प्रहारबाट जनमत पार्टीका नेता मन्त्री यादव पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रदेशसभा सदस्य सतीस सिँहको नेतृत्वमा शिलान्यास स्थल पुगेका जनमत कार्यकर्ता र प्रहरीबीच भएको झड्पपछि प्रहरीले लाठी प्रहार गरेको स्थानीय सञ्चारकर्मी शैलेश कर्णले बताएका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेको ब्यानरमासप्तरी जनताको विरोधका बाबजुद गैरकानुनी गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं । हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छौ भन्ने उल्लेख थियो ।

यता शिलान्यास कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यक्रम रोक्ने जनमत पार्टीको प्रयास राजनीतिक स्टंट रहेको टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH