रामलला विराजमान : दिव्य जनकपुरधाममा भव्य दीपोत्सव (तस्बिरसहित)

२०८० माघ ८, सोमबार १८:५८

“छैन जानकी मन्दिरमा कमिला पस्ने ठाउँ”

सुरेन्द्र यादव/टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ माघ ।
जनकपुरधामको जानकी मन्दिर परिसरमा सबा लाख दीप प्रज्जवलन गरिएको छ । रामजन्मभूमि आयोध्यामा भगवान् श्रीरामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भएको अवसर पारेर सोमबार जानकी मन्दिरमा दीपोत्सव मनाइएको हो ।

मर्यादापुरुषोत्तम रामको ससुराली मिथिलाञ्चलमा भगवान् श्रीराम धार्मिक रूपले अराध्यदेव हुनुका साथै साँस्कृतिक दृष्टिले ‘पाहुन’ अर्थात् ज्वाइँचेला मानिन्छन् । गत पाँच सय वर्षदेखि त्रिपालमुनि निर्वासनमा रहेका ज्वाइँचेला रामलला वर्षौंपछि भव्य एवम् दिव्य मन्दिरमा विराजमान भएको खुसीमा जनकपुरधवासी जानकी मन्दिरमा सबा लाख दीप बाल्नुसँगै विशेष आरतीसमेत आयोजन गरेका छन् ।

मन्दिर परिसर र वरपर फुलअबीर प्रयोग गरी श्रीरामलगायतका धर्मोदेव सम्बोधन हुने नाउँ अंकित थरीथरीका कलात्मक तस्बिर बनाइएका छन् । सोही अवसरमा जनकपुरधामका जानकी मन्दिर, राममन्दिरलगायतका देवालयहरूमा श्रीरामनाम संकीर्तन, भजन, रामायण पाठ आदि धार्मिक कृत्यहरू हुँदैछन् ।

स्थानीय राम मन्दिरमा एकखालका पोसाक एक सय एक महिलाले दीप एकैपटक दीप बालेका छन् । भगवान् रामको घरफिर्तीको खुसी प्रकट गर्ने यो विशेष तरिका भएको कार्यक्रम संयोजन गर्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए ।

गाउँसहरका विभिन्न चोकचौराहामा श्रद्धालुभक्तजनहरूले रामरथ बनाई बाजागाजाका साथ रामनामको नारा घन्काउँदै बजार प्रदक्षिणा गरिरहेका छन् । सयौँको समूहमा रहेका प्रदक्षिणा गर्नेहरूमा साधुसन्तका अतिरिक्त अधिकांश किशोरकिशोरी र युवा देखिन्छन् ।

जनकपुरधाम र अन्य विभिन्न स्थानमा घरघरमा रामपताका फहराइएको छ भने घरआँगनमा दीपावली गरिएको छ ।
रामलला विराजमानको अवसरमा जनकपुरधाम र नजिकका विभिन्न धर्मस्थलहरूमा वृक्षमानवका नामले चिनिएका वनकर्मी सुरेश शर्माको अगुवाइमा देववृक्ष रोपण गरिएका छन् ।

आयोध्याको राम मन्दिर उद्घाटनका दिन जनकपुरधाममा मेला नै लागेको छ । जानकी र राम मन्दिरलगायतका ठाउँमा अन्य दिनको तुलनामा निकै बढी श्रद्धालुभक्तजनहरू ओइरिएका छन् । राम मन्दिर उद्घाटन भएको दिन ऐतिहासिक महत्वको भएकाले जनकपुरधाममा विशेष किसिमका उत्सव मनाइएको जानकी मन्दिरका कार्यवाहक महन्थ मनोज दास वैष्णवले बताए ।

वैष्णवले भने, “त्रेतायुगमा १४ वर्षको वनवास पाएका रामसीताको छ सय वर्षको निर्वासन सकिएको छ । ज्वाइँछोरी वा दिदीभिनाजु घरवास हुँदाको खुसी अतुल्य हुन्छ । यसकै प्रकट विभिन्न रूपमा भइरहेका छन् ।”

यता रामलला विराजमानका अवसरमा जनकपुरधाममा धार्मिक उत्सव भइरहँदा जानकी मन्दिर पछाडिमा रहेको मस्जिद क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको छ । केही दिनअघि मस्जिदको बाटो भएर मूर्ति विसर्जन गर्नेक्रममा भएको फरक धार्मिक समुदायबीच भिडन्त भएकाले मस्जिद क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको हो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH