सरकारी मुद्दाका काम प्रभावकारी हुनुपर्छ : राष्ट्रपति
टोलपडोस समाचारदाता
काठमाडौं, ९ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वार्षिक २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषयमा ध्यान दिनुपर्ने बताए ।
उनले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षा लगायतका कामहरू अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेको सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्ताको कार्यालयले विशेष ध्यान दिने आशा व्यक्त गरे ।
सो अवसरमा महान्यायाधिवक्ता पोखरेलले वार्षिक प्रतिवेदनको संक्षिप्त विवरण प्रस्तुत गगरेका थिए ।