हेलचेक्रयाइँ नगर्न स्वास्थ्य अधिकारीहरूलाई मन्त्री सिँहको निर्देशन
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ माघ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँहले स्वास्थ्य संस्थाहरूलाई जनउत्तरदायी भएर कुशलतापूर्वक व्यवस्थापन गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित प्रदेशका आठवटै जिल्लाका स्वास्थ्यसंस्था प्रमुखहरूसँगको अन्तक्र्रियामा मन्त्री सिँहले स्वास्थ्य जनताको मौलिक अधिकार र गुणस्तरीय स्वास्थ्य सुविधा राज्यको दायित्व भएकाले स्वास्थ्यसेवामा नागरिकको सर्वसुलभ पहुँचका लागि स्वास्थ्य क्षेत्रका कर्मचारी जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताए ।
मन्त्री सिँहले स्वास्थ्य क्षेत्रमा हुने आशातीत उपलब्धि नै सरकारको समग्र कामकाजलाई प्रतिविम्बन गर्ने हुँदा कुनै पनि निहुँमा जनतालाई सेवा दिने कुरामा स्वास्थ्यसंस्थामा गरिने हेलचेक्रयाइँ र ढिलासुस्ती क्षम्य नहुने उल्लेख गरे ।
उनले भने, ‘सहज, गुणस्तरीय र विस्तारित स्वास्थ्यसेवाका लागि मन्त्रालय प्रतिबद्ध छ । तर, यसलाई कार्यरूप दिन स्वास्थ्य कर्मचारीहरूको व्यक्तिगत तथा सामूहिक योगदान आवश्यक छ ।’
मन्त्री सिँहले मधेश प्रदेशमा पछिल्लो समय स्वास्थ्यसम्बन्धी कार्यक्रमको व्यवस्थापन र प्रभावकारिता तीव्रताका साथ अघि बढेकोमा सन्तोष व्यक्त गर्दै थप चुनौतीको चाङ्गसँग सामना गर्न स्वास्थ्यसंस्था प्रमुखहरू तयार रहनुपर्नेमा जोड दिए ।
उनले प्रदेशका स्वास्थ्य संस्थाहरूलाई भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको दृष्टिले सम्पन्न बनाउँदै आधारभूत स्वास्थ्य सेवासँगै विशिष्टीकृत सेवा सञ्चालन गर्न मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै स्वास्थ्यसंस्था विस्तार र स्तरोन्नतिका कामबाट गरिब, सीमान्तकृत र जोखिममा रहेकमा वर्गको गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्यसंस्था सञ्चालनका समस्या र समाधानबारे छलफल भएको मन्त्री सिँहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।