‘डाक्टरी अक्षर’ : निद्रा लाग्ने औषधि खानुपर्नेलाई रक्तस्राव रोक्ने दबाइ
अनिलकुमार कर्ण
जनकपुरधाम, १० माघ ।
जनरल सर्जन एवम् ल्यापरोस्कोपी सर्जन डा. सुजित यादवको एउटा प्रेसक्रिप्सन यतिबेला ‘भाइरल’ बनेको छ । मणिपालबाट चिकित्साशास्त्रमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट शल्यचिकित्सामा स्नातकोत्तर डा. सुजितको त्यस प्रेसक्रिप्सनको शिरानमा समर हस्पिटल एन्ड रिसर्च सेन्टर जनकपुरधामको ओपिडी टिकट लेखिएको छ । प्रेसक्रिप्सनको दाहिनेपट्टी डा.सुजितसँगै एकअर्का चिकित्सकका नाम र विवरण उल्लेख छ ।
प्रेसक्रिप्सन भाइरल हुनुका कारण भने प्रेसक्रिप्सनमा लेखिएका ती विवरण होइनन् । प्रेसकिप्सनमा लेखिएका बाङ्गाटिङ्गा, अस्पष्ट र अधुरा अक्षर छन् । ‘प्रेसकिप्सन मैले पनि देखेँ । अक्षर बुझिँदैनन् मात्र होइन कि अनुमान गर्न पनि कठिन छ । यदि सम्बन्धित चिकित्सकले नै लेखेका हुन् भने यसले नेपाल मेडिकल काउन्सिलको दिशानिर्देश उल्लंघन भएको छ,’ प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.रामनरेश पण्डितले भने ।
डा.सुजितले लेखेका भनिएको प्रेसक्रिप्सनमा अस्पताल र चिकित्सकको विवरण तथा अस्पतालको नक्सा छापिएकाले प्रस्ट छन् । तर, हातले लेखिएका नाउँ, निदानलगायत अन्य विवरण बुझिँदैनन् । अझ प्रेसक्रिप्सनमा दुई चिकित्सकका नाम भएकाले त्यो लेख्ने चिकित्सक लेख्ने चिकित्सक को हुन् भन्ने ठम्याउन गारो छ । यद्यपि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले प्रेसक्रिप्सन डा.सुजितले नै लेखेका हुन् भन्ने दाबी गरिरहेका छन् ।
प्रेसक्रिप्सन सामाजिक सञ्जालमा भाइरल भइरहँदा डा.सुजितले एउटा पोस्टको कमेन्टमा प्रेसक्रिप्सन बिरामीका लागि नभएर औषधिपसलेले बुझ्नेगरी आफूले लेखेको प्रष्टीकरण दिएको एक चिकित्सकले बताए । तर, प्रेसक्रिप्सनमा उल्लेखित डा.सुजितको नम्बरमा पटकपटक कल गर्दा पनि सम्पर्क हुन नसकेकाले यसको पुष्टि गर्न सकिएन ।
चिकित्सक डा.रामदेव चौधरीले विद्यालयकालमा चिकित्सकहरूको अक्षर टाइप गरेजत्तिको सफा र सुन्दर हुने तर मेडिसिनको परीक्षा दिइरहँदा तथा अभ्यास गर्ने बेलाको व्यस्तताले बिग्रँदै जाने अनुभव सुनाए ।
चिकित्साक्षेत्रका जानकारहरूका अनुसार बिग्रिएका अक्षरका कारण चिकित्सकले एउटा औषधि लेख्ने र पसलेले अर्कै औषधि दिने थुप्रा घटना भएका छन् । एक चिकित्सकको प्रेसक्रिप्सनमा पढ्न नसकिने अक्षरका कारण केही दिनअघि मात्र निद्रा आउने ANXIT नामक औषधि रक्तस्राव रोक्ने TRANXIT औषधि पसलेले बिरामीलाई दिएका थिए ।
नेपाल मेडिकल काउन्सिलले प्रेसक्रिप्सन लेखनका लागि दिशानिर्देशअन्तर्गत त्यसको नमुना नै सार्वजनिक गरेको छ । जसमा मिति, बिरामीको नाम, उमेर, लिङ्ग, लक्षण र संकेत आदिका आधारमा गरिने निदान, फरकफरक रोग हुन सक्ने निदान र आवश्यक परीषणपछिको अन्तिम निदान, औषधिसम्बन्धी विवरणमा नाम र सेवन गर्ने परिमाण र अवधिसमेतको विधि, सम्भावित महत्वपूर्ण प्रतिअसर, सल्लाह, फलोअप योजना, चिकित्सकको हस्ताक्षर, पुरा नाम र सही उल्लेख गर्नुपर्ने भनिएको छ ।
त्यसविपरीत डा.सुजितको प्रेसक्रिप्सनमा बिरामीको पेसा र धर्म शीर्षक समेत उल्लेख छन् । तर, तिनमा केही लेखिएको छैन ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.पण्डितले प्रेसक्रिप्सनमा बिरामीको परिचय, फिजिकल परीक्षण, जाँचपड्ताल, औषधोपचार, फलोअप प्लानसँगै चिकत्सकको पुरा नाम, हस्ताक्षर र काउन्सिल नम्बर नहुनु गैरकानुनी अभ्यास भएको बताए । उनले भने, ‘यसले बिरामी र चिकित्सकबीचको सम्बन्धमा खलल पुग्नसक्छ । चिकित्सापद्धतिमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै परामर्श हो । अस्पष्ट र अधुरो प्रेसकिप्सनले परामर्शको पाटोलाई कमजोर तुल्याउँछ,’ डा.पण्डितको भनाइ छ ।
प्रादेशिक अस्पतालका निर्देशक डा.पण्डितले कुनै पनि बिरामी चिकित्सककहाँ जाँदा उपचार गर्दा निको हुने, उपचारक्रममा जटिलता थपिने, निको नहुने र निको नहुँदा बिरामी वा चिकित्सक निर्णयका आधारमा रिफर हुने चार अवस्था हुने बताए । प्रेसक्रिप्सन प्रस्ट नहुँदा यी प्रक्रियाका क्रममा बिरामी र चिकित्सकबीच परामर्श बाधित हुने र यसले दुवैबीचको सम्बन्धमा समस्या उत्पन्न हुने डा.पण्डितले सुनाए ।
उनका अनुसार प्रेसक्रिप्सनमा नबुझिने र बाङ्गाटिङ्गा अक्षर लेखिनु अक्षम्य छ । यस्ता अक्षर पढ्न नसकेर एउटा औषधिको सट्टा अर्कै औषधि सेवन गर्न सक्ने जोखिम रहन्छ ।
तर, चिकित्सकले लेख्ने प्रेसक्रिप्सन राम्रो लेखपढ गरेकाले समेत पढ्न नसक्ने भए पनि औषधिपसलेले सजिलै बुझ्छन् । ‘यो चिकित्सक र औषधिपसलेबीचको अनुचित साँठगाँठको परिणाम हो,’ एक चिकित्सकले भने ।
सुरुको वा अन्त्यको एउटा अक्षरबाट औषधिको नाम यकिन गर्नसक्ने गरी चिकित्सकले पसलेका लागि प्रेसक्रिप्सन लेख्ने गर्छन् । जसलाई चिकित्सकनिकटका खास औषधिपसलेले मात्र अथ्र्याउन सक्छन् । प्रेसक्रिप्सनमा अन्य आवश्यक कुरा लेख्नेसँग केही चिकित्सकलाई वास्ता नै हुँदैन । औषधि बेचबिखनमा हुने चर्को कमिसनको खेलका कारण यस्तो उपाय अपनाउने गरिएको जानकारहरूको भनाइ छ ।
जनकपुरधामका प्रख्यात वरिष्ठ चिकित्सक डा.विजयकुमार सिँहले आफ्ना रोगको निदान र औषधोपचारबारे जानकारी लिने बिरामीको अधिकार भएको र रेफर हुँदा प्रेसक्रिप्सनकै आधारमै अन्य चिकित्सकले उपचार गर्नुपर्ने हुँदा यसमा गरिने हेलचेक्रयाइँ उचित नभएको टिप्पणी गरे । उनले चिकित्सा पेसालाई मर्यादित बनाउन आचारअभ्यास अन्तर्गत नेपाल मेडिकल काउन्सिलको दिशानिर्देशलाई चिकित्सकहरूले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य एवम् मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा.अंकुर साहले प्रेसक्रिप्सनमा क्यापिटल अक्षर, प्रिन्टेड अक्षर वा सजिलै पढ्नसक्ने अक्षर लेख्नुपर्ने काउन्सिलको निर्देशको अर्थ बिरामीलाई निको पार्न नसकिए पनि क्षति नपुग्ने स्थिति बनाउनु रहेको बताए । उनले चिकित्सकले औषधि लेख्ने तर अक्षर पढ्न नसकिँदा डिसपेन्सरी(औषधि विक्रेता) ले एउटाको सट्टा अर्को औषधि दिनसक्ने जोखिम भएकाले पनि प्रेस्क्रिप्सन लेखनमा सतर्कता अपनाउनुपर्ने आग्रह गरे ।