सभामुखको टोलीबाट कुटिएका प्रदेशसभा सचिव जनकपुर छाड्दै

२०८० माघ १०, बुधबार १८:४०
सभामुख रामचन्द्र मण्डल नेतृत्वको टोलीबाट कुटिएका भनिएको मधेश प्रदेशसभा सचिव मनोजकुमार गिरी । तस्बिर : प्रदेशसभा सचिवालय

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, १० माघ ।
सभामुख रामचन्द्र मण्डलको अगुवाइमा स्वकीय सचिवालयका कर्मचारीबाट सोमबार अपराह्न कुटिएको भनिएका मधेश प्रदेशसभा सचिव मनोजकुमार गिरी जनकपुरधाम छाड्ने मनस्थितिमा छन् ।

कुटपिटबाट ढाडको तल्लो भागमा चोट लागेर ‘मुभ’ लगाइरहेका ५७ वर्षीय गिरीले प्रदेशसभाको आगामी माघ २१ गतेलगत्तै नभए यो महिनाको अन्त्यसम्म काठमाडौं फर्कने टोलपडोसलाई बताए ।

‘आर्थिक कार्यहरू गर्न बाँकी छन् । संसद् सचिवका रूपमा म आफैै लेखा उत्तरदायी अधिकृत भएकाले काम नसकिँदै फर्कन सकिँदैन । वार्षिकोत्सव पनि टाउकोमा छ । त्यसैले अलिक दिनमा जनकपुरधाम छाड्नेछु,’ सचिव गिरीले भने,‘ विगतमा कानुनविपरीत भएका कार्य सल्टाउन(नियमसम्मत बनाउन) र कानुनी बाटाबाटै भविष्यमा काम हुने विधि बसाल्न तथा आर्थिक कारोबार व्यवस्थापन गर्न अबेर साँझसम्म लेखाका कर्मचारीहरू काम गरिरहेका छन् ।’

सभामुख मण्डलका स्वकीय सचिवालयका एक कर्मचारीले कानुनसम्मत नदेखिएको कागजातमा हस्ताक्षर गर्न ल्याएको फाइल फर्काएपछि आक्रोशित सभामुखलगायतको टोलीले आफूमाथि आक्रमण गरेको गिरीले जानकारी दिए ।

उनले भने, ‘सभामुख पदको गरिमा र प्रदेशसभाको मर्यादा तथा घरपरिवारका सदस्यलाई चिन्ता होला भन्ने पिरले घटना भएको दुई दिनसम्म बोलिनँ ।’

गिरीका अनुसार सोमबार अपराह्न घाम लागेका बेला प्रदेशसभाको पहिलो तल्लामा वार्षिकोत्सव सम्पन्न गर्ने प्रयोजनका लागि गठित उपसमितिमा आबद्ध कर्मचारीसँग कार्यप्रगतिका विषयमा छलफल गरिरहेका बेला कानुनले नमिल्ने फाइलमा हस्ताक्षर गराउन सभामुखको स्वकीय सचिवालयका एक कर्मचारी पुगेका थिए ।

तर, त्यहाँ सहभागी प्रशासनका कर्मचारीले हस्ताक्षर गर्नु नियमसम्मत नहुने भनेपछि पछि हेरौँला भन्दै सचिव गिरीले तिनलाई फर्काएका थिए । त्यसपछि सभामुखले फोन गरी सचिव गिरी र लेखाका कर्मचारीलाई भेट्न बोलाए । ‘फोनमा बोलाउँदा उहाँ(सभामुख) निकै आवेगात्मक स्वरमा बोल्नुभयो,’ गिरीले भने ।

‘सभामुख भएको ठाउँमा जानै लाग्दा उहाँ सचिवालयका केही कर्मचारीसँगै हामी भएकै ठाउँमा आउनुभयो । त्यतिबेला ममाथि हातपात भयो । धन्न मसँग भएका कर्मचारीले जोगाउँदा सामान्य चोटमात्र लागेको छ,’ उनले घटनाबारे बताए ।

प्रदेशसभाका एक कर्मचारीका अनुसार सभामुख मण्डलले कानुनविपरीत कर्मचारी भर्ना गरेको र ती कर्मचारीलाई यथास्थितिमा तलबलगायत सुविधा दिन नमिल्ने भन्दै गिरीले अडान लिँदै आएकाले सभामुख मण्डल केही दिनयता उनीमाथि आक्रोशित हुँदैआएका थिए । सोमबार त्यो आक्रोश चुलिएर हातपातसम्मको घटनामा परिणत भएको हो । ‘म अझै असुरक्षित छु,’ गिरीको भनाइ थियो ।

सभामुख मण्डलले प्रदेशसभाका अघिल्ला सचिव रञ्जित यादवलाई विस्थापित हुनेगरी गिरीलाई प्रदेशसभा सचिवमा ल्याएका थिए ।
सभामुख मण्डलले सचिव गिरीले नियमकानुनको बखेडा झिकेर प्रदेशसभाको काम हुन नदिएको आरोप लगाए । ‘मैले नै उनलाई ल्याएँ । तर, उनले प्रदेशसभाको काम नै अघि बढ्न दिएका छैनन् । उनी पागल हुन्,’ मण्डलले भने ।

यसैबीच मधेश निजामती कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको कुटपिटलगायत दुव्र्यवहारको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन् ।

मधेश प्रदेश सरकारका प्रमुख सचिव दिनेश घिमिरे घटनाबारे अनविज्ञता प्रकट गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH