राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान हुँदै

२०८० माघ ११, बिहीबार ०९:५९
मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका रिक्त दुई सदस्यका लागि बिहीबार प्रादेशिक राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण सँस्कृति केन्द्रमा मतदान हुँदै ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ माघ ।
मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका रिक्त दुई सदस्यका लागि बिहीबार प्रादेशिक राजधानी जनकपुरधाममा मतदान सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सँस्कृति केन्द्रमा रहेको मतदानस्थलमा केही बेरअघि मतदान सुरु भएको हो ।

बिहीबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचन संविधानअनुसार निर्वाचक मण्डलको मतभारबाट हुनेगर्दछ ।

निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छन् । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता छन् ।

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख नवीन चौधरीले मतदानस्थलमा दुईवटा मतदान केन्द्र कायम गरिएको बताए ।

प्रदेशका विभिन्न पालिका गरी पाँच प्रतिनिधि कारबाहीमा परेका कारण तिनीहरूको मतदाता नामवलीमा समावेश नगरिएको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

प्रदेशमा रिक्त दुई सदस्यमध्ये एकमा सत्ता गठबन्धनका आनन्द ढुंगाना, एमालेका विजेता झा र जनमत पार्टीका रामाशंकर महासेठ उम्मेदवार छन् । अर्का एक सदस्यमा महिला महिलातर्फ सत्ता गठबन्धनका पूजा चौधरी र एमालेका उषादेवी थरूनीको उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्र नजिकको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

जनकपुरधाममा यसअघि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा जनमत पार्टीको उग्र प्रदर्शन हिँसात्मक घटनामा परिणत भएको थियो ।

मधेश प्रदेशसँगै राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेका १९ पदका लागि आजै मतदान हुँदैछ ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिनेछ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एकजना मनोनीत हुनेछन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH