सहमतिपछि गौर अस्पताल सञ्चालनमा

२०८० माघ ११, बिहीबार १९:२२

सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट ११ माघ ।
करिब एक सातापछि रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ।

गत माघ ७ गतेयता आन्दोलनरत्त स्वास्थ्यकर्मी र चिकित्सकको टोली तथा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित ओपिडीलगायत सेवा सुचारु भएको हो।

आन्दोलनरत्त कर्मचारीका तर्फबाट अस्पतालका ल्याब टेक्निसियन अनुठा राय यादवले एक सूचना जारी गर्दै सेवा सञ्चालन जनाएका छन् ।

तलबको माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित भएपछि एक सातादेखि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द रहेका थिए।

लामो समयदेखि तलबभत्ता नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।

माघ ६ मा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीले पत्रकार सम्मेलनमार्फत् राजनीतिक हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको आरोप लगाएका थिए ।

प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना चिकित्सकले गत तीन महिनादेखिको तलब र सात महिनादेखि भत्तालगायत अन्य सुविधा पाउन नसकेकाले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्नुपरेको डा. चन्दन सहनीले बताएका छन्।

अहिले मेडिकल सुपरिटेन्डेण्टमा सञ्जीव र कृष्ण गरी दुईजना छन् र दुवैबीच चर्को विवाद छ ।

सञ्जीव सिंह एघारौं तह र कृष्ण साह दसौं तहका कर्मचारी हुन् ।  सिंह सिनियर कर्मचारी रहेकाले उनलाई मेडिकल सुपरिटेन्डेन्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH