दुई मिनेट भए नि आफ्ना फिल्ममा देखिन्छन् सुभाष घई
मुम्बई, ११ माघ ।
फिल्म जगतमा जब पनि कुनै महान निर्देशकको नाम आउँछ, सुभाष घईलाई छुटाउन सकिँदैन ।
सुभाष घई थोरै निर्देशकमध्ये एक हुन् जसका १६ मध्ये १३ फिल्म ब्लकबस्टर हिट साबित भएका छन् । यतिमात्र होइन, उनले बलिउडलाई धेरै सुपरस्टार पनि दिएका छन् ।
सुभाष घई एक यस्ता फिल्म निर्देशक हुन् जसलाई बलिउडको दोस्रो शो म्यान भनिन्छ किनभने उनको कलाकारको परख गर्ने सीपले अद्भूत छ । सुभाष घई एक चलचित्र निर्देशक, निर्माता, पटकथा लेखकका साथै एक अभिनेता पनि हुन् ।
२४ जनवरीमा आफ्नो ७७ औं जन्मदिन मनाएका अलराउन्डर सुभाष घईका बारेमा केही रोचक कुराहरू जानौं ।
सन् १९५४ मा नागपुरमा जन्मेका सुभाष घईले कलेज हरियाणामा पढेका थिए तर उनको मन फिल्ममा मात्र थियो । पढाइ सकेपछि उनी पुणेको फिल्म एन्ड टिभी इन्स्टिच्युटमा भर्ना भए । यहाँ उनले सिनेमाका ज्ञान सिके र त्यसपछि भाग्य बनाउनका लागि मुम्बई पुगे । तर त्यतिबेला मुम्बईमा कुनै पनि चिनजान बिना फिल्ममा काम पाउन सजिलो थिएन ।
सुभाष घईको सुरुको सपना नायक बन्ने थियो र उनले अभिनयका लागि कडा मिहिनेत गरे । धेरै मिहिनेत गरेपछि उनले केही चलचित्रमा स–साना भूमिका पाए तर अभिनय उनको भाग्यमा लेखिएको थिएन । केही वर्ष संघर्ष गरेपछि जब सुभाष घईलाई अभिनयमा केही हुनेवाला छैन भन्ने लाग्यो, तब उनी निर्देशनको दुनियाँमा प्रवेश गरे ।
पहिलो फिल्मले बक्स अफिसमा हलचल
सन् १९७९ मा सुभाष घईले शत्रुघ्न सिन्हा र रिना रोयलाई लिएर ‘कालीचरण’ फिल्म बनाए र पहिलो फिल्मबाटै उनले बलिउडमा सफलताको झन्डा गाडे । फिल्म सफल भयो र सुभाष घईले नयाँ बाटो फेला पारे । सन् १९८० मा सुभाष घईले ऋषि कपुरसँगको फिल्म ‘कर्ज’ बनाए, जसले बक्स अफिसमा हलचल मच्चाइदियो ।
यस फिल्मको कथा र गीत सुपरहिट भएका छन् । उनले एकपछि अर्को सुपरहिट फिल्म निर्देशन गरे, जसले बलिउडमा हलचल मच्चाउँदै गयो । नायक, जंग, कर्मा, रामलखन, सौदागर, परदेश, खलनायक, तालजस्ता उत्कृष्ट फिल्म दिएर उनले आफू हरेक क्षेत्रमा प्रभुत्व जमाउन सक्ने मान्छे भएको प्रमाणित गरे ।
भनिन्छ, पहिलो जोस कहिल्यै मर्दैन । अभिनय सुभाष घईको पहिलो सौख थियो र त्यसलाई पुरा गर्न उनी आफ्ना प्रत्येक फिल्ममा दुई मिनेटका लागि देखा पर्छन् । सुभाष घईले फिल्म मात्र बनाएनन्, उनले धेरै नयाँ स्टारलाई फिल्ममा लन्च गरे र ती स्टारहरू फिल्मी दुनियामा हिट साबित भए । ज्याकी श्राफ, मीनाक्षी शेषाद्री, महिमा चौधरी, मनिषा कोइरालाजस्ता सुपरस्टार सुभाष घईका खोज हुन् ।
(न्युज कारखाना)