नेपालीस्थित दूतावासले मनायो गणतन्त्र दिवस
जनवरी २६ भारतको राष्ट्रिय पर्व
टोलपडोस समाचारदाता
काठमाडौं, १२ माघ ।
भारतको ७५ औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय दूतावासमा शुक्रबार मनाइएको छ । प्रत्येक वर्ष जनवरी २६ मा मनाइने गणतन्त्र दिवस भारतको राष्ट्रिय पर्व हो । यसै दिन सन् १९५० मा भारतको संविधान लागू गरिएको थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको आरम्भ भयो ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई गणतन्त्र दिवसका अवसरमा शुभकामना दिए ।
कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेकीे सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो ।
राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवसयता विभिन्न क्षेत्रमा भारतले हासिल गरेका उपलब्धि विशेषगरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरेकी छिन् ।
कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेपाली ५ करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे । सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै राजदूत श्रीवास्तवले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएका भूपू–२०२४ पत्रिकाको लोकार्पण समेत गरेका छन् ।
राजदूत श्रीवास्तवले विभिन्न संस्थालाई पुस्तक उपहारस्वरूप प्रदान गरे । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा ३० वटा संस्थालाई नेपाली १९ लाख रुपैयाँबराबरको पुस्तक उपहारस्वरूप वितरण गर्दैछ ।
कार्यक्रममा दूतावासका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
दूतावासको सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सो कार्यक्रम प्रत्यक्ष प्रसारण गरियो ।