संघ सरकारले वर्दिबासको पर्यटकीय सम्भावना खोज्ने

२०८० माघ १२, शुक्रबार २०:००

‘बर्दिवास होटल र शैक्षिक हब बन्ने’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई शुक्रबार काठमाडौंमा भेटेर बर्दिवासको पर्यटन विकासका लागि ध्यानाकृष्ट गराउँदै बर्दिवासका राजनीतिकर्मी, उद्योगीव्यवसायी, पत्रकारलगायत । तस्बिर : सामाजिक सञ्जाल

विशाल बस्नेत/न्युज कारखाना
बर्दिवास(महोत्तरी), १२ माघ ।
महोत्तरीको चुरेक्षेत्र राईमण्डलको पर्यटकीय सम्भावना अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञटोली पठाउने भएको छ ।

बर्दिवास उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ र स्थानीय पत्रकारसँग काठमाडौंमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका छन् ।

छलफलमा मन्त्री किरातीले राईमण्डलको सम्भाव्यता अध्ययनपछि आवश्यक बजेट विनियोजन गर्ने बताए ।

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

अध्ययन टोलीको प्रतिवेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेका प्राचीन र प्राकृतिक पर्यटन प्रवद्र्वन गर्न आफू तयार रहेको उनको भनाइ छ ।

छलफलपछि नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसांसद गिरिराजमणि पोखरेलले मन्त्री किराँतीसँगको भेटघाट निकै फलदायी भएको बताए ।

मन्त्री किरातीले अध्ययन टोली पठाउने बताएपछि स्थानीय उद्योगी र पर्यटन व्यवसायी उत्साहित भएका छन् । छलफल आशलाग्दो भएको बताउँदै उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले राईमण्डल पर्यटकीय हबका रूपमा विकसित हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल र शैक्षिक हबका रूपमा विकसित हँुदै गएको बर्दिवास अब मधेसकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उद्योग वाणिज्य संघ बर्दिवासका महासचिव उत्तमकुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्शन काफ्ले, पत्रकार विशाल बस्नेतलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH