फतुवा विजयपुर : निलम्बित मेयरको दबदबाले तलब खान पाएनन् कर्मचारीले

२०८० माघ १४, आईतवार १२:४१

रौतहट, १४ माघ ।
जिल्लाको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले लामो समयदेखि तलब पाएका छैनन् ।

राजनीतिक टकरावका फतुवा विजयपुर नगरपालिकाको बजेट पारित हुन नसक्दा त्यहाँ कार्यरत कर्मचारीले तलब नपाएका हुन् ।

फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बसे पनि बजेट पास हुन नसकेको पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत हंसराजकुमार यादवले बताए ।

उनले भने, ‘वैशाखदेखि हामीले तलब पाएका छैनौँ । कार्यपालिका बैठक बस्न सकेको छैन ।’ पालिकाका अनुसार नगरप्रमुख गोपालराय यादव पक्षका वडाध्यक्षहरू र नगर उपप्रमुख अमवेया खातुनबीचको टकरावका कारण नगरसभाले बजेट पास गर्न नसकेको हो ।

लालबकैया नदीको टेन्डरमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरेपछि त्यहाँका मेयर यादव निलम्बनमा छन् । पालिकाका कार्यवाहक मेयर खातुन छिन् । निलम्बनमा परेपछि पनि पालिकामा यादवको दबदबा बढेको पालिकाका एक कर्मचारी बताउँछन् ।

उनले भने, ‘कार्यवाहक मेयरले अहिले बजेट एकै ठाउँमा ल्याएर पास गरौँ, कर्मचारीलाई तलब खान दिनुपर्छ भन्नुहुन्छ तर यादव पक्षका वडाध्यक्षहरूले मानिरहेका छैनन् ।’
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH