धामीको मन : झारफुकको रकमबाट गरिब बच्चालाई पोसाक

२०८० माघ १४, आईतवार १५:२९


विराटनगर, १४ माघ ।
सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजनकुमार पूर्वछाने मगरले ।

मगर झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् । शुक्रबार उनले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोसाक वितरण गरे ।

लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उनले ४० हजार रुपैयाँबराबरको विद्यालय पोसाक वितरण गरेका हुन् ।

माघको ठिहीमा फाटेका एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उनको मनमा दया लाग्यो । त्यसपछि उनले १०/२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोसाक दिए ।

‘मसँग केही छैन । विपन्न नानीहरू त्यसमा पनि दलित र जनजाति समुदायका । त्यसैले सानो सहयोग स्वरूप पोसाक वितरण गरेको हुँ,’ उनले भने ।

पोसाक वितरण कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीका लुगा च्यातिएका थिए भने खुट्टामा चप्पलसम्म थिएन ।

उनले भने, ‘कम्तीमा एउटा झोला र एक/एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवान्को कति आशीर्वाद रहन्छ ।’

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH