सिरहा : घर भत्काउँदा प्रहरी मूकदर्शक भएको आरोप
मुकेशकुमार यादव
सिरहा, १४ माघ ।
सिरहाको मिर्चेया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दुरीमा जेसिभी लिएर रातको समयमा घर भत्काउँदा समेत प्रहरी मूकदर्शक बनेको आरोप लगाइएको छ ।
प्रहरीसँगको मिलेमतोमै मिर्चेया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर ५ का राजदेव कापरीसहितको समूहले रातिको समयमा जेसिभी लिएर भत्काएको पीडितले आरोप लगाएका छन् ।
घर भत्काएको भन्दै आक्रोशित पीडित पक्षले शनिबार राति टायर बालेर प्रदर्शन गर्दै मिर्चेयामा पूर्वपश्चिम राजमार्ग जाम गरेका थिए ।
घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो ।
तर, रात छिप्पिन लाग्दा शनिबार नै सबै सुतिरहेका बेला राजदेवले मानिस ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ ।
(न्युज कारखाना)