व्यवस्थापनको गम्भीर हेलचेक्रयाइँ : जनकपुर रेल्वे स्टेसनमा ‘पानी’ गायब
‘हामी किल्लामा कैद काकाकुल कैदी भएका छौं’
अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, १५ माघ
जनकपुरधाम रेल्वे स्टेसनमा गत दस दिनदेखि पानी अवरुद्ध हुँदा सयौँको सँख्यामा यात्रु, रेल्वे कर्मचारी र सुरक्षाकर्मीलगायतले गम्भीर समस्या भोगिरहेका छन् ।
पानी अभावमा स्टेसनमा रहेका शौचालयमा व्यवस्थापनले ताला लगाएको छ । जसले गर्दा रेलयात्रा गर्नेहरू दिसापिसाब च्याप्न बाध्य छन् । स्टेशनमा रहेका धाराबाट पिउने पानी चुहिन छाडेको छ । खानेपानीको अनुपलब्धताबारे पूर्वजानकार नरहेका यात्रुलाई तिर्खाएरै रेलको प्रतीक्षा गर्नेदेखि कोसौं टाढासम्म यात्रा गर्नु परिररहेको छ ।
पानी अभावमा नियमित सरसफाइ नहुँदा जनकपुरधाम स्टेशन दुर्गन्धित बनेको छ । पानी नै नहुँदा रेल्वे क्यान्टिनमा सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको छ ।
दस दिनअघि पम्प हाउसमा रहेको मोटर बिग्रिएकाले पानी आपूर्ति अवरुद्ध भएको हो । डिप बोरिङ तल राखिने मोटर बढी क्षमता र विशेष प्रकारको हुनेगर्छ । घरेलु प्रयोगका लागि पानी तान्न प्रयोग गरिने मोटरभन्दा महँगो डिप बोरिङ तल प्रयोग गरिने मोटर सरकारलाई हस्तान्तरण भएपछि दोस्रोपटक बिग्रिएको छ । पहिलो पटक बिग्रिएपछि पुरानोलाई विस्थापन गर्नेगरी नयाँ मोटर खरिद गरिएको थियो । एक वर्षको वारन्टी अवधिमै नयाँ मोटरमा पनि खराबी आएको छ । तर, मोटर बनाउन वा प्रतिस्थापन गर्न रेल्वे व्यवस्थापनले ठोस पहल गरेको छैन ।
जयनगरदेखि भङ्गहासम्म रेल्वे ट्रयाक, स्टेसन भवन, प्लेटफर्म, क्वार्टर, पानी आपूर्तिका संरचना आदि भारतीय कम्पनी इरकोनले निर्माण गरी नेपाल सरकारलाई गत ०७८ साल चैत महिनामा हस्तान्तरण गरेको थियो । इरकोनले रेल्वे सञ्चालनको पूर्वाधार निर्माणकै क्रममा जनकपुरधाम रेल्वे स्टेसन क्षेत्रमा डिप बोरिङ्गसहितको पम्पहाउस बनाएर पानी आपूर्तिको सञ्जाल तयार गरेको थियो । सोही डिप बोरिङबाट स्टेसन र क्वार्टरमा रिजर्व टयाङ्की राखेर पानी आपूर्ति गर्दैआएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडमार्फत जयनगर–जनकपुर–भङ्गहासम्म ५२ किलोमिटर दुरीमा रेल्वेसेवा सञ्चालन भइरहेको छ । जयनगरदेखि भङ्गहासम्मका १२ वटा स्टेशन र हल्टमध्ये जनकपुरधाम यात्रुको सर्वाधिक चाप हुने ठाउँ हो । यो ठाउँबाट दैनिक पश्चिम भङ्हातर्फ एक सेवा पूर्व जयनगरतर्फ तीन सेवा गरी चार सेवाबाट करिब तीन हजारको सँख्यामा यात्रुहरू ओहोरदोहोर गर्नेगर्छन् । सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा रेल्वे सुरक्षाका लागि खटिने ७७ मध्ये २२ सशस्त्र प्रहरी जनकपुरधाम रेल्वे स्टेशनमा आवासीय रूपमा तैनाथ छन् ।
रेल्वे स्टेसनमा आपूर्ति हुने प्रणालीबाटै पानी प्राप्त गर्ने रेल्वे कर्मचारी क्वार्टरको सँख्या छ रहेको छ । जनकपुर रेल्वे स्टेसन परिसरमै रहेका ती क्वार्टरमा कर्मचारीसहित करिब ५० जनाको बसोबास छ ।
सशस्त्र प्रहरी बल नेपालको रेल्वे सुरक्षा बेसका सुरक्षाकर्मीहरू पानी आउन छाडेपछि ‘नालापानी युद्धमा दुश्मणद्वारा किल्लाभित्र कैद काकाकुल कैदी’ को दुनिर्यति खपिरहेको रेल्वे स्टेसन वरपरका एकले दुखेसो पोखे ।
उनले सार्वजनिक प्रयोजनका लागि रेल्वे स्टेसनमा रहेका शौचालयमा तालाबन्द हुँदा यात्रुले भोग्नुपरेका सास्ती कहालीलाग्दो भएको भन्दै सुरक्षाकर्मीहरूलाई पिउन, भान्साभात गर्न, नुहाइधुवाइ र शौचालयका लागि स्टेसन परिसरको मन्दिरमा रहेको चापाकलबाट डोल (बाल्टिन) प्रयोग गरी पानी ओसार्नुपरेको बताए । रेल्वे क्वार्टरमा बस्ने कर्मचारीहरूले भने सीताचोकस्थित एक व्यापारीको व्यक्तिगत चापाकलबाट पानी ल्याइरहेका छन् ।
‘हातगोडा धुनसम्म पानी छैन । हिजोआज टाउकामा पानी छर्केरै क्वार्टरमा रहेका कर्मचारी परिवारका सदस्य र सशस्त्र प्रहरीहरू स्नान गर्नेगरेका छन्,’ ती एकले भने । उनले रेल्वेका महाप्रबन्धकलाई जानकारी गराउँदा पनि पानी आपूर्ति व्यवस्थापनबारे कुनै सुनुवाइ नभएको गुनासो गरे ।
रेल्वेका महाप्रबन्धक निरञ्जनकुमार झा महाप्रबन्धक झा नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा सहभागी हुन अहिले काठमाडौंमा छन् । पार्टीका युवा नेता झविलाल राहु मगरले सामाजिक सञ्जालमा परिषद् बैठकको ब्यानर पृष्ठभूमि रहेको पार्टीका अन्य नेता झासहितको तस्बिर सार्वजनिक गर्दै महाप्रबन्धक झा एकीकृत समाजवादीको भ्रातृसंगठन युवा संघ नेपालका उपाध्यक्ष रहेको जनाएका छन् । उनी अझै काठमाडौंमै अलमलिइरहेको रेल्वेका एक कर्मचारीले बताए ।
स्टेसन परिसरमै रहेको महाप्रबन्धक निवासमा भने पानी आपूर्ति भइरहेको छ । छुट्टै आपूर्ति प्रणाली भएकाले त्यहाँ पानी प्रबन्धनमा समस्या नरहेको ती कर्मचारीको भनाइ छ ।
मोटर बनाउन व्यवस्थापनले ‘चासोसहितको तत्परता’ देखाउन नसकेकाले जनकपुर रेल्वे स्टेसनमा पानी आपूर्ति सुचारु गर्न सकिएको छैन । रेल्वेका खरिदको काम समेत गरिरहेका स्टोर इन्चार्ज केवलबहादुर नेपालीले ‘अफिसमा लेखापरीक्षणको काम भ्याइनभ्याइ भएकाले’ मोटर बनाउन दिन नसकिएको बताए ।
उनले जनकपुरधामका मिस्त्रीले मोटर बनाउन नसक्ने भनेकाले बर्दिवासस्थित सोरुममा नै मोटर पठाई बनाउनुपर्ने जानकारी दिँदै भने, ‘अफिसका कामबाट बेफुसर्दी भएर भोलि बिहान मोटर लिएर बर्दिवास जान्छु ।’
मोटरको वारन्टी अवधि रहेकाले मरम्मत गर्न विक्रेता नै जिम्मेवार हुनुपर्ने होइन र भन्ने टोलपडोसको प्रश्नमा स्टोर इन्चार्ज नेपालीले अकमकाउँदै भने, ‘त्यो धेरै पुरानो कुरा हो । वारन्टीबारे याद छैन । कागजपत्र त होला तर कहाँ राखिएको छ भन्नेबारे सम्झना भएन ।’
रेल्वेका एक कर्मचारीले मोटर बनाउन नसकिँदा हजारौं मानिस प्रभावित हुने पानी आपूर्ति रोकिनु गम्भीर व्यवस्थापकीय हेलचेक्रयाइँ भएको बताए । ‘नेपाल हो, यहाँ केही पनि हुँदैन । विदेश भएको भए पानी रोकेको आरोपमा महाप्रबन्धक र स्टोर प्रमुखलाई तत्काल निलम्बन गरेर कारबाही अघि बढ्थ्यो,’ उनले भने ।
नेपालको संविधानमा खानेपानीलाई मौलिक अधिकारभित्र राखिएको छ । खानेपानी तथा सरसफाइ ऐन २०७९ ले दफा ३ को (ख) ले नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी प्राप्त गर्ने नागरिक अधिकार सुनिश्चित गरेको छ ।
पानी आपूर्तिका विषयमा जानकारी लिन महाप्रबन्धक झाले प्रयोग गर्ने ९८०…..९५० मा पटकपटक कल गर्दा पनि सम्पर्क हुन सकेन ।