समाचार प्रभाव : मेयरको चासोमा रेल्वे स्टेसनमा पानी सुचारु हुने

२०८० माघ १५, सोमबार २२:३०
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, १५ माघ ।
जनकपुरधाम रेल्वे स्टेसनमा गत दस दिनयता अवरुद्ध पानी आपूर्तिबारे जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले चासो लिएका छन् ।

टोलपडोस डटकममा प्रकाशित त्यससम्बन्धी समाचारपछि सोमबार अबेर साँझ मेयर साहले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झालाई फोन सम्पर्क गरी पानी आपूर्ति तत्काल व्यवस्थापन गर्न आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा सहभागी हुन काठमाडौं पुगेका महाप्रबन्धक झालाई मेयर साहले पानी आपूर्ति ठप्प हुँदा सर्वसाधारणले सास्ती भोगिरहनुपरेको र यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाए ।

मेयर साहले भने, ‘अतिव्यस्त सार्वजनिक स्थलमा खानेपानी, शौचालय र सरसफाइको व्यवस्थालाई लिएर सम्बन्धित पक्ष उदासीन हुनु उदेकलाग्दो छ । तर, भोलि(मंगलबार) सम्म पानी आपूर्तिको व्यवस्था भइसक्ने महाप्रबन्धक झाले जानकारी दिनुभएको छ ।’

मेयर साहले पानी आपूर्ति हुने प्रणाली सञ्चालन गर्न रहेको एउटामात्र मोटरको विकल्पमा थप अर्को राख्न महाप्रबन्धक झालाई सुझाए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH