सिसी क्यामरा कक्षका कारण धनुषाको ट्राफिक व्यवस्थापन सुदृढ बन्दै

टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ माघ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्र सञ्चालनमा आएको सिसी क्यामरा मनिटरिङ्ग कक्षका कारण मधेशको प्रादेशिक राजधानी जनकपुरधामको ट्राफिक व्यवस्थापन सुदृढ र प्रभावकारी बन्दै गएको छ ।
मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्रालयले उपलब्ध गराएको सिसि क्यामरा तथा आवश्यक उपकरणबाट छ महिनाअघिबाट सिसी क्यामरा मनिटरिङ्ग कक्ष सञ्चालनमा ल्याइएको हो ।
जनकपुरधाम उपनगरपालिकाको उत्तरी क्षेत्र मुजेलियाको भाटभटेनीदेखि दक्षिणी सीमान्त बिन्धीसम्मको पाँच किलोमिटरसम्म जडान गरिएका सिसि क्यामरामा कैद हुने दृश्यहरूलाई ट्राफिक प्राविधिक प्रहरी कर्मचारीले मनिटरिङ्ग कक्षबाट निरन्तर अवलोकन गर्नेगर्छन् । सिसी क्यामरा जडान भएको क्षेत्र ढल्केवर–जनकपुर–भिठ्ठामोड छ लेन सडक हो ।
यो सडक ट्राफिक व्यवस्थापनको दृष्टिले अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक शेखर साहले सिसी टिभीले सवारी दुर्घटना गराएर फरार हुने सवारीसाधनको खोजी तथा पहिचान गर्न सहज भएको, अपराध न्यूनीकरणमा समेत सघाउ पुगेको र समग्र शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
उनले सिटी क्यामराकाको कभरेज क्षेत्र विस्तार गरी नियन्त्रणकक्षमार्फत ट्राफिक व्यवस्थापनलाई थप दुरुस्त बनाउन सम्बद्ध निकायसँग समन्वय भइरहेको उल्लेख गरे ।
