जनकपुरधाम :अन्तःगृह परिक्रमा सडकभित्र काटमार र मांसदारू निषेध
मांसमदिरा बन्दको मारमा अहिले पर्दैन जनकपुरका भठ्ठी
टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ माघ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले मंगलबारबाट अन्तःगृह परिक्रमा क्षेत्रभित्र पशुपक्षी बध तथा माछामासु र अन्डा खरिदबिक्री निषेध गरेको छ । नगर कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गरी मदिराको बिक्रीवितरणसहित ती काममा रोक लगाएको हो ।
कार्यपालिकाको सूचना अटेर गरी निषेधित कार्य गरिएका नियमानुसार कारबाही गरिने मेयर मनोजकुमार साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
साँस्कृतिक पर्वतिहार र धार्मिक उत्सवका अवसरमा स्थानीय प्रशासनले अन्तःगृह परिक्रमा क्षेत्रमा पशुपक्षी बध तथा मांसमदिरा बिक्रीवितरणमा आवधिक रोक लगाए पनि पूर्णकालीन ढंगले ती व्यवहार निषेधित गरिएको पहिलोपटक हो ।
यसअघि एउटा मुद्दामा सर्वोच्च अदालतले समेत जनकपुरधामको अन्तःगृह परिक्रमा क्षेत्रमा पशुपक्षी बध तथा मांसमदिराको बेचबिखनमा रोक लगाउने आदेश दिएको बताइए पनि त्यससम्बन्धी आधिकारिक दस्ताबेज स्थानीय प्रशासन र कार्यपालिका कार्यालयसँग उपलब्ध छैन ।
परिक्रमा सडकभित्र सयौँ होटल, रेस्टुरेन्ट, टहरेभट्ठी, सडक किनारका ठेलागाडा, हाटबजार आदिमा वर्षौंदेखि मांसमदिराको खुलेआम बिक्रीवितरण तथा सेवन हुँदै आइरहेको छ । तर, यस सडकभित्रका क्षेत्रमा भने पशुपक्षी बध नै अवस्था पछिल्ला केही समययता हुन थालेको छ ।
परिक्रमा सडकसँगैका होटल रामा नजिक, जालान ग्यारेज अगाडि र वंशीचोकमा गरी तीन ठाउँमा पक्षीबध हुन थालेपछि यसको विस्तार हुने र कालान्तरमा नियन्त्रण गर्न कठिन हुने सङ्कट उत्पन्न भएपछि नगर कार्यपालिकाले मांसमदिरा भक्षणको स्रोत काटमार र बिक्रीवितरण नै रोक्न बाध्य भएको मेयर साहले जानकारी दिए ।
कार्यपालिकाको सूचनामा सदियौंदेखिको परम्परा र पवित्रता कायम गर्न सो निषेधाज्ञा जारी गरिएको भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई यस्तो निषेधको अधिकार दिएको छ । तर, नगर कार्यपालिकाको यो निर्णय सम्पूर्ण रूपमा कार्यान्वयन गर्न मुश्किल हुने बताइएको छ । मेयर साहले धार्मिक सहरमा हिँडिरहँदा आँखाले देखिने ‘अभद्र र अनुचित’ लाग्ने पशुपक्षी बध र मांसमदिरा बेचबिखन पहिलो चरणमै रोकिने जानकारी दिए ।
उनले दोस्रो चरणमा होटल तथा रेस्टुरेन्टभित्र हुने मांसमदिराको व्यापारमा पनि कडाइ गर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाको अन्तःगृह परिक्रमा क्षेत्रमा सयौँ मांसमदिरा पसल छन् ।