रौतहटमा ‘नागदेव’ देखिएपछि श्रद्धालुको लस्कर

२०८० माघ १६, मंगलवार २१:३४
रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मा देखिएको सर्प । तस्बिर : अनिल यादव

अनिल यादव/टोलपडोस
रौतहट, १६ माघ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मा सर्प देखिएपछि नागदेवता भन्दै हेर्नेको भिड लागेको छ । फतुवा विजयपुर वडा ३ स्थित मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । सो स्थानमा मंगलबार बिहानदेखि नागदेवताको दर्शन गर्नेहरूको लाम लागेको स्थानीय वीरेन्द्र यादवले बताए ।

पछिल्लो तीन दिनदेखि उक्त स्थानको नहरछेउमा नाग देखिने गरेको उनले बताए । नहरछेउको खेतको दुलोबाट बिहान १० बजे निस्कने नाग दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको गाउँलेहरूले बताएका छन् ।

नागदेवता भनिएको उक्त सर्पजस्तै अन्य सर्प केही समयअघि कटहरियामा पनि देखिएको थियो । अहिले देखिएको सर्प ब्ल्याक कोबरा प्रजातिको रहेको अनुमान गरिएको छ ।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकामा पर्ने जंगलमा नागदेवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भिड लागेको थियो ।

स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलछेउको जंगलमा मन्दिर निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH