“समुदायमा कांग्रेस अभियान” का लागि पार्टीका सबै गुट एकठाममा

२०८० माघ १८, बिहीबार १०:५१
नेपाल प्रेस युनियन सर्लाहीले बुधबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा “समुदायमा कांग्रेस अभियान” का लागि सर्लाहीमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका पार्टी केन्द्रीय सदस्य गणेश लामा । तस्बिर : कृष्ण थपलिया

टोलपडोस समाचारदाता

सर्लाही १८ माघ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आम नागरिकका समस्या जनताको घरदैलोमै पुगेर बुझ्न पार्टीले “समुदायमा कांग्रेसस अभियान” सञ्चालन गरेको बताए ।

बुधबार साँझ लालबन्दीमा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि समेत रहेका लामाले यस्तो बताएका हुन ।
अभियानको उद्देश्यअनुरूप सर्लाहीका नागरिकले भोग्नुपरेका समस्या समाधानका लागि शीर्षस्थ नेताहरूलाई सुनाउन आफूले टिपोट गरेको उनले बताए ।

उनले सर्लाहीका मिटरब्याज पीडितका समस्या, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको तुरुन्त सरुवा हुने परिपाटीलगायतका विषयमा प्रधानमन्त्रीकहाँ डेलिगेसन जानुपरे त्यसको समेत नेतृत्व गर्ने बताए ।

पत्रकारको जिज्ञासामा केन्द्रीय सदस्य लामाले कांग्रेसले नै नेतृत्व गरिरहेको हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधानका लागि आफूले यहाँबाट जानेबित्तिकै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सर्लाहीमा आफू रहँदै गर्दा बुधबार मलंगवामा पार्टीको फरक समूहका पूर्व जिल्ला सभापति नागेन्द्र राय, लक्ष्मण राय र वर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतलाई एकैठाउँमा राखेर कार्यक्रम गर्न सफल भएको उनले बताए । अभियानले पार्टीलाई समेत बलियो र एकताबद्ध बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

माघ २६ गतेसम्म सर्लाही रहँदा विभिन्न वडामा पुगी जनताका गुनासा, सल्लाह, सुझाव टिपोट गर्ने र ती विषय समाधानका लागि पार्टी सभापति, महामन्त्रीलगायत सम्बन्धित ठाउँमा गएर राख्ने उनले बताए ।

प्रेस युनियन सर्लाहीका सभापति कृष्णप्रसाद थपलियाको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, नेपाली काँग्रेस बागमती प्रदेशको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकाल, काँग्रेस नेता शेरबहादुर योन्जन, तरुल दल बागमती प्रदेशका पूर्वसदस्य रमेश लामालगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH