सुरु भयो जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव

२०८० माघ १८, बिहीबार १४:१९
जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको बिहीबारबाट जनकपुरधाममा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीककृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : सुरेन्द्र यादव

टोलपडोस समाचारदाता
जनकपुरधाम, १८ माघ ।
बहुप्रतीक्षित जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव बिहीबारबाट जनकपुरधाममा सुरु भएको छ । मैथिली विकास कोषद्वारा आयोजित महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा(एकीककृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृतिक केन्द्रमा गर्नुभयो ।

भाषा, साहित्य, कला र संस्कृति तथा समाजको विकास तथा विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको महोत्सवले स्थानीय धार्मिक पर्यटन समेतलाई टेवा पुर्याउने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाल र भारतका वरिष्ठ साहित्यकार, भाषाविद्, सामाजिक अभियन्ता, राजनीतिकर्मी, रङ्गकर्मी तथा सुप्रसिद्ध गायक एवम् गायिकासँगै दुवै देशलगायत अन्य राष्ट्रका नाट्य समूहको सहभागिता रहनेछ । महोत्सव माघ २२ गतेसम्म चल्नेछ ।

२०७३ सालबाट आरम्भ भएको महोत्सवको यो चौथो शृंखला हो । महोत्सव सुरु भएयता दुई वर्षको अन्तरालमा आयोजना हुँदैआएको छ । गत २०७८ मा भने कोभिडका कारण महोत्सवको आयोजना भएको थिएन ।

यसअघि स्थानीय सँस्कृति र परम्परा झल्काउने भव्य तथा आकर्षक झाँकीसहित अभियानीहरूले नगर प्रदक्षिणा गरेका थिए ।
महोत्सवमा २० विषयमा विमर्श गरिनेछ । महोत्सवको पहिलो दिन बिहीबार ‘नव घर उठ्य, पुरान घर ….?’ शीर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता योगेश भट्टराई, नेकपा(एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सबिता गौतम र पूर्व राजदूत विजयकान्त लाल कर्ण बहस हुनेछ ।

यो सत्र आज ३ बजेदेखि ४.३० सम्म हुनेछ ।

आजकै दोस्रो सत्रमा ‘सामाजिक सञ्जाल की जञ्जाल’ विषयमा सञ्चारकर्मी स्नेहा झाको सञ्चालनमा वरिष्ठ साहित्यकार रामभरोस कापडिको बीज भाषणसहित साहित्यकार धर्मेन्द्र विह्वल, राजनीतिक विश्लेषक चन्द्रकिशोर, वरिष्ठ पत्रकार वृजकुमार यादव, सञ्चारकर्मी पार्वता चौधरी र अनलाइन खबरका सम्पादक शिव गाउँले संवाद हुनेछ । कार्यक्रम अपराह्न ४.३० देखि ५.३० सम्म हुनेछ ।

आयोजक संस्था कोषको स्थापना २०५८ सालमा भएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरी छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH