धरौटीमा छुट्ने भए जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम साह
अन्य तीन पनि धरौटीमै रिहा हुने
टोलपडोस समाचारदाता
जनकपुरधाम, १८ माघ ।
बिलबिजक बिना सुन कारोबार गरेको आरोपमा पक्राउ परेका जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम साह र अरुण ठाकुरसहित थप दुई कालिगढ बिहीबार रिहा हुने भएका छन् ।
राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उनीहरूलाई बिलबिजक बेगर कारोबार गरिएको सुनको प्रचलित बजार मूल्यबराबरको रकम धरौटी लिएर रिहा गर्न लागेको हो ।
साहको मुद्दामा पैरवी गर्न पथलैया पुगेका जनकपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ललित साहका अनुसार सात लाख ८० हजार नौ सय नौ रुपैयाँ धरौटी राखेर सुनचाँदी व्यवसायी बलराम साह रिहा हुने भएका हुन् भने अर्का व्यवसायी अरुण ठाकुरसँग चार लाख २७ हजार धरौटी लिइएको छ ।
कालीगढ भनिएका सिरहा मिर्चेयाका अजय सुनारसँग बलरामसँग लिइएको रकम बराबर र सञ्जय सुनारसँग अरुणबाट लिइएको रकमबराबर धरौटी लिइनेछ ।
विभागको पथलैया कार्यालयका प्रमुख प्रेम देवकोटाले प्रहरी प्रतिवेदनमा बरामद समानको मूल्यअनुसार कायम रकमबराबर धरौटी लिई पक्राउ परेकालाई रिहा गरिए पछि पनि अनुसन्धान जारी रहने जानकारी दिए ।
बुधबार जनकपुरधामस्थित आआफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई बुधबार अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले अघिल्लो दिन अर्थात् मंगलबार साँझ जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।
धनुषा प्रहरीले बुधबार नै पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो ।
धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सिरहा मिर्चेयाको कालीगढले बिलबिजक नभएको सुन बिक्री गर्न जनकपुरधाम ल्याएको सूचना प्राप्त भएपछि उनीहरूलाई पछ्याउँदा सुन बिक्री हुने पसल पहिचान गरी सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिए ।
उनले सुन ल्याउने कालीगढ र सुन किन्ने पसले दुवैसँग बिलबिजक नरहेपछि राजस्व छली भएको आशङ्का उनीहरूलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताए ।
कालीगढसहित सुनचाँदी पक्राउ परेपछि जनकपुरधाम–४ स्थित सोनरपट्टीमा बुधबार टायर बाली प्रहरीविरुद्ध प्रदर्शन गरेका स्थानीय सुनचाँदी व्यवसायीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा नजिक टायर नै बाली विरोध जनाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बिलबिजक तत्काल नरहेको सामान्य त्रुटिका कारण प्रहरीले व्यवसायीको मानप्रतिष्ठा हरण तथा सिंगो व्यापारी समुदायलाई तर्साउनेगरी पक्राउ गरेको घटना दुःखद रहेको बताए ।
प्रहरीले तस्करीको सुन बिक्रीवितरणमा बिजबिजक जारी नहुने आकलन गरेको छ । यस्तो सुनमा प्रतितोला १५ हजार रुपैयाँसम्म नाफा हुनेगरेको छ ।
(रिहा हुने प्रक्रिया जारी रहेका बेला फोन सम्वाद बाधित भएकाले यसअघि समाचारमा रिहा नै भइसकेको आशयको समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौं)