बल्ल सक्रिय भयो उपेन्द्र यादवको प्रशिक्षित आइटी दस्ता

२०८० माघ १८, बिहीबार १६:३७
जनकपुरधाममा बिहीबार आयोजित एक कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भाषण कभर गरिरहेका सञ्चारकर्मीमाझ पार्टीको आइटी सेलका एक कार्यकर्ता । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, १८ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बोलिरहँदा सामान्यतः वरपर पत्रकारहरू झुमिन्नछन् । मधेश प्रदेशको सत्ता नेतृत्व गरिरहेको दलका अध्यक्ष रूपमा यादवले अप्रत्याशित ढंगले नयाँ, फरक र महत्वपूर्ण कुरा बोल्छन् कि भन्ने पर्खाइमा सञ्चारकर्मीहरू बडो मनोयोगले यादवको कुरा सुन्न आतुर हुन्छन् ।

मैथिली विकास कोषद्वारा जनकपुरधाममा बिहीबार सुरु भएको जनकपुरधाम साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव उद्घाटनमा जसपा अध्यक्ष यादवले बोलिरहँदा एक हुल सञ्चारकर्मीले क्यामरामा उनलाई कैद गरिरहेका थिए । यो सामान्य दृश्य थियो । यस्तै असामान्य सञ्चारकर्मीको भिडमा पार्टीका कार्यकर्ताले पनि मोबाइलमा यादवको भाषण रेकर्ड गर्नु थियो ।

‘उपेन्द्र यादवले भाषण गरिरहँदा मञ्चअगाडि समाचार संकलन गरिरहेका पत्रकारबीच पार्टीका कार्यकर्तालाई सम्झिनुपर्ने कारणचाहिँ अलिक फरक छ । पार्टीका केही कार्यकर्ता प्रशिक्षित आइटी सेलका युवा पनि थिए,’ कार्यक्रममा सहभागी सामाजिक अभियन्ता सञ्जु साहले भनिन् ।

जसपाले गत पुस महिनामा सामाजिक सञ्जालमा सक्रिय रहने पार्टीका युवा कार्यकर्तालाई पार्टी हितका लागि सामाजिक सञ्जालको प्रयोगका बारेमा औपचारिक प्रशिक्षण दिएको थियो । जनकपुरधामको रमण टावरमा भएको प्रशिक्षणमा विपक्षीमाथि पार्टीमाथि हुने प्रहारको उत्तर, पार्टी लाइनको पक्षपोषण र नेतृत्वको देवत्वकरणका बारेमा तथ्यांकन गर्न सिकाइएको थियो ।

पार्टी अध्यक्षको अभिव्यक्ति नै विभिन्न सन्दर्भमा पार्टीको आधिकारिक र विश्वसनीय लाइन भएकाले अध्यक्षका भाषणलाई सामाजिक सञ्जालका विभिन्न एपमार्फत तत्काल, तीव्र र विस्तारित ढंगले साझा गर्नुपर्ने सिकाइका कारण अहिले अध्यक्ष सहभागी भएका विभिन्न कार्यक्रममा मोबाइल लिँदै पार्टीका आइटी सेलका कार्यकर्ता सक्रिय रहन्छन् ।

सामाजिक अभियन्ता सञ्जुले भनिन्, ‘पत्रकारले छानेर नै अध्यक्षका बोली छाप्ने वा प्रसारण गर्ने काम गर्छन् । तर, पार्टीको आइटी सेलका कार्यकर्ताले अध्यक्षको सिंगो भाषण वा सम्पादन गरेर अनुकूलका कुरा सामाजिक सञ्जालमा प्रवाह गर्छन् । त्यसैले रणनीतिक दृष्टिले कार्यक्रममा आइटी सेलका कार्यकर्ताको उपस्थिति महत्वपूर्ण छ ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH