‘मैथिली फिल्म ल’क उभरल पूर्णेन्दु’

टोलपडोस समाचारदाता
जनकपुरधाम, १९ माघ ।
लकडाउन डाउनयता मुम्बई, काठमाडौं र दिल्ली आदि ठाउँमा मैथिली फिल्म निर्माणका चुनौती र सम्भावना केलाउन भौतारिँदै गरेका फिल्म निर्देशक पूर्णेन्दु झा यसबीचमा शान्त र स्थिर छन् । उनको यस मौनताभित्र एउटा खोजमा अद्र्धविराम लागेको सन्तोक छ । अर्थात् यात्राको एउटा पडाव सकिएको र अर्को आरम्भको उद्घोष ।
मधेशको परिवेशमा आधारित तर नेपालीसहितको लबजमा निर्माण गरेर अहिले तन्नेरी गुमाउँदै गएका पुस्तामाझ चर्चित बनेका पूर्णेन्दु के गर्दैछन् ? जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्र परिसरमा शुक्रबार बिहान पुस्तक स्टलअघि भेटिएका उनले भने, ‘मैथिली फिल्मको कथा तयार गर्न अन्तिम चरणको अनुसन्धानमा छु । सँगै लोकेसन पहिचान गर्नेदेखि फिल्म उत्पादनका लागि पूर्वतयारीमा छु ।’
महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा अहिले भइरहेको जनकपुरधाम साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका पूर्णेन्दुको सिकाइ भने रोकिएको छैन । उनी महोत्सवका हरेक गतिविधि सुक्ष्मतापूर्वक नियाल्दैछन् । विषयगत विमर्श होस् वा नाटक । उनी ती सबै ‘इभेन्ट’ का धैर्यवान् दर्शक/श्रोता बनेका छन् ।
‘मधेशसँगै देशको भू तथा अर्थ राजनीतिलाई अनुसन्धानदाता र अन्य वक्ताका अभिव्यक्तिमा सुन्ने एवम् बुझ्ने यो गजबको अवसर हो । फिल्मका लागि रोजिने विषयवस्तुलाई वस्तुपरक तथा गहिरो बनाउन यस्तो संवादले मद्दत गर्छ,’ निर्देशक पूर्णेन्दुले भने ।
महोत्सवको चौथो दिन ‘विदेश जाईत मधेश’ शीर्षकमा विमर्श हुँदैछ । पेटपालो गर्न घरनी तथा बच्चालाई ‘बेसहारा’ छाडेर विदेशिने मधेसियाहरूका कहालीलाग्दा कथाव्यथा र तिनका अन्त्र्य निफन्ने प्रयासमा केन्द्रित यो बहस पूर्णेन्दूका लागि ‘बौद्धिक खुराक’ हुनसक्छ । कथामा क्रमआधारित घटनामात्र हुँदैनन्, तिनमा कारण र प्रभाव समेत हुन्छन् । यसले नै हो फिल्ममार्फत सन्देश प्रवाहित हुने । ‘विमर्शको यो शीर्षकले मेरो आगामी फिल्मका लागि जरुरी चिजबिज दिनेछ,’ पूर्णेन्दुको भनाइ छ ।
सन् २००८ मा रिलिज भएको जनचेतनामूलक छोटो फिल्म ‘अपवाद’ बाट फिल्म निर्माणमा डेब्यु गरेका सर्लाहीनिवासी पूर्णेन्दु हिजोआज नाम जुरिनसकेको मैथिली फिल्म निर्माणको तयारीमा छन् । उनको नयाँ सिर्जना फिचर फिल्म हो । ‘विदेश जाईत मधेश’ शीर्षकमा हुने संवादबाट फिल्मका कथावस्तुमा थप्ने वा हटाउने तथ्य प्राप्त हुन सक्ने उनको आकलन छ । खासमा उनले निर्माण गर्न थालेको फिल्म विदेशिने नेपालीहरूको दुःख, पीडा र सकसमा आधारित छ ।
फिल्ममा बेथिति र विसंगतिलगायत समस्या मात्र होइन, स्वच्छ मनोरञ्जनका लागि जीवनका सुन्दर तथा सार्थक पक्ष पनि उधिन्नुपर्छ । पूर्णेन्दुको यो फिल्मले बित्थाको रुवावासीबाट दिक्क लगाउने काम गर्दैन । दर्शकलाई सुखलाग्दा क्षणसँगै जिउने परिस्थिति निर्माण गर्छ ।
त्यसो भए नेपाली भाषाका चलचित्र निर्माण गरेर निर्देशकको पंक्तिमा उभिएका पूर्णेन्दु मैथिली भाषाका चलचित्रमा केन्द्रित बन्न खोजेका छन् त ? उनकै शब्दमा उनले फिल्म निर्माणको प्रक्रियामा विश्वास गर्छन । उनका मैथिली, नेपाली र हिन्दी तीनवटै भाषाका फिल्म निर्माण गर्ने तयारी गरेका छन् । पूर्णेन्दुले भने, ‘नाउँ फाइनल नभएको मैथिली र नेपाली पिजे थ्री फिल्म बनाउँदैछु । हिन्दी भाषाको चलचित्र पाइपलाइनमा छ ।’