आइतबार आधा दिन जनकपुरधामका पसल बन्द रहने
टोलपडोस समाचारदाता
जनकपुरधाम, १९ माघ ।
जनकपुर उद्योग वाणिज्य संघले माघ २१ गते आइतबार जनकपुरधामका व्यापारिक प्रतिष्ठान आधा दिनसम्म बन्द गर्न आह्वान गरेको छ ।
बिलबिजक बिना सुन कारोबार गरेका आरोपमा राजस्व अनुसन्धान विभागको पथलैयास्थित कार्यालयले मुद्दा चलाएका चारजना सुनचाँदी व्यवसायीका ‘निर्दोषिता र प्रहरी’ को भूमिकाका बारेमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयमा सामूहिक रूपमा ज्ञापनपत्र बुझाउन जाने भनेर आइतबार दिउँसो दुई बजेसम्म व्यापारिक प्रतिष्ठान बन्द राख्न संघले व्यापारीहरूलाई आह्वान गरेको हो ।
गत बुधबार संघका एशोसिएट सदस्यसमेत रहेका जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम साह र सदस्य अरुण ठाकुर तथा सिरहा मिर्चेयाका भनिएका रोशनी ज्वेलर्सका अजय साह सोनार र सञ्जय साह सोनारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिलबिजक बिना सुन कारोबार गरी राजस्व छली भएको भन्दै पक्राउ गरेर राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो ।
विभागको पथलैया कार्यालयले चारैजनालाई धरौटीमा रिहा गरी अनुसन्धान अघि बढाएको छ ।
सुनचाँदी व्यवसायीलाई पक्राउ गरी झुटा मुद्दा चलाइएको र यो निन्दनीय भएको संघको ठहर छ । संघले त्यस कार्यबाट व्यापारीहरू असुरक्षित भएको भन्दै सम्बद्ध प्रहरीमाथि कारबाहीको माग गर्दै आइतबार ज्ञापनपत्र बुझाउनेछ ।
संघका अध्यक्ष जितेन्द्र महासेठले बन्दुकको नोकमा व्यापारी तर्साउने कार्यविरुद्ध प्रतिष्ठान बन्द गरेर सांकेतिक विरोध गरिने भन्दै त्यस दिन अन्य कुनै काममा अवरोध नगरिने जानकारी दिए ।