म अझै त्रासमा छु : सुनचाँदी व्यवसायी बलराम साह
टोलपडोस समाचारदाता
जनकपुरधाम, २० माघ ।
सुनचाँदी व्यवसायी बलराम साहले सामाजिक सञ्जालमा शनिबार लेखे, ‘गुड सेटरडे’ । आफ्नो व्यापारिक प्रतिष्ठान बलराम ज्वलेर्स अगाडि उभिएका आफ्ना दुई तस्बिरसहित शुभ शनिबारको सन्देश लेखेका छन् । अन्य दिनझैँ खैरो जुत्तासहितको पाइन्टसर्ट र कालो चश्मामा चिटिक्क देखिएका उनी बुधबारयता सामाजिक सञ्जालमा पहिलोपटक देखापरेका हुन् ।
बुधबार धनुषा प्रहरीले बिलबिजक बिना सुन कारोबार गरेको भन्दै साहसहित अन्य जनकपुरधामका अन्य एक र कालीगढ भनिएका सिरहा मिर्चेया दुई व्यापारीलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो । विभागको पथलैया कार्यालयले ती चारैलाई धरौटी लिई बिहीबार रिहा गरेको छ ।
रिहा भएपछि साह बिहीबार अबेर राति जनकपुरधाम आएका थिए । त्यसयता उनी आफू सामान्य र सुरक्षित रहेको सन्देश दिन आफ्ना फोटा साझा गरेका छन् । र, लगत्तै भोलि अर्थात् आइतबार जनकपुर बजार बन्द गरी व्यापारी एकता कायम गर्न र आफ्नो प्रतिष्ठा फिर्ता गराउन आह्वान गरेका छन् ।
झुटा मुद्दामा साहलगायतलाई पक्राउ गरिएको तथा पूर्वाग्रही ढंगबाट अनुसन्धानका लागि पथलैया पठाइएकाले त्यसका लागि जिम्मेवार प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउन जनकपुर उद्योगवाणिज्य संघले आइतबार आधा दिन बजार बन्दको घोषणा गरेको छ ।
व्यवसायी साहले आफू अझै असुरक्षित महसुस गरिरहेको बताए । उनले निर्दोष हुँदा पनि प्रहरीले आफूलाई बलात् पक्राउ गरी पथलैया पठाएको घटनाका कारण आफू र आफ्ना पारिवारिक सदस्य नै सुरक्षित नरहेको अनुभव भइरहेको उनको भनाइ छ ।
‘म नाउँ त भन्न सक्दिनँ तर मलाई योजनाबद्ध तरिकाले फसाइएको छ । प्रहरीले मलाई झुक्याएर जिल्ला प्रहरी कार्यालय बोलाई नियन्त्रणमा लियो अनि हत्कडी लगाएर पथलैया पठायो ।
‘यो दुव्र्यवहार हो,’ उनले भने, ‘घरिघरि प्रहरीले केही नराम्रो गर्लान् कि त फसाउलान् भन्ने लागिरहेको छ ।’
भोलिपल्ट नै बिलबिजक ल्याइदिने भनेपछि आफूले मिर्चेयाबाट आएका व्यापारीले ल्याएको गहना राखेको भन्दै व्यापारमा यस्ता कुरा सामान्य भएको साहले बताए । तर, सानो कुरामा पनि प्रहरीको यस्तो आक्रामक व्यवहार देखेर आफू आश्चर्यचकित भएको उनले बताए ।
व्यवसायी साहले व्यापारिक जगतको इज्जतप्रतिष्ठा र मान राख्न पनि आफूसँग भएको व्यवहारविरुद्ध सबै एकजुट हुनुपर्ने आग्रह गरे । उनले व्यापारीहरू एकढिक्का नभए कुनै बेला पनि कसैको इज्जत जान सक्ने उल्लेख गरे ।
यता धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बिलबिजक बिना नै सुन कारोबार भइरहेको प्रारम्भिक निष्कर्षपछि राजस्व छली आरोपमा साहलगायतलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाइएको बताए ।
‘प्रहरीले प्राप्त सूचनाका आधारमा अघि बढ्दै जाँदा राजस्व छली भइरहेको निक्र्योल भएपछि उनीहरूलाई पक्राउ गरिएको हो, यसमा कुनै पूर्वाग्रह हुने कुरा नै भएन,’ प्रहरी उपरीक्षक शर्माले भने ।