बजार बन्द गरी जनकपुरका व्यापारी मुख्यमन्त्रीको दैलोमा
‘सुनचाँदी व्यापारीका कुरा प्रधानमन्त्रीलाई सुनाउँछु’
अनिलकुमार कर्ण/सुरेन्द्र यादव
जनकपुरधाम, २१ मघ ।
बिलबिजक बिना सुन कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले तहकिकात गरिरहेको मुद्दाका आरोपी जनकपुरधामका चारजना सुनचाँदी व्यवसायीका समस्याका बारेमा प्रधानमन्त्रीलगायत सरोकारवाला सङ्घीय मन्त्री र अधिकारीहरूसँग कुरा गर्ने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् ।
जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम ज्वेलर्सका बलराम साह र अरुण ज्वलेर्सका अरुण ठाकुर तथा कालीगढ भनिएका सिरहा मिर्चेयाको रोशनी ज्वलेर्सका अजय साह सुनार र सञ्जय साह सुनार झुटा मुद्दामा फसाइएको भन्दै त्यसमा संलग्न प्रहरी अधिकारी तथा कर्मचारीलाई कारबाहीको माग गरिएको जनकपुर उद्योगवाणिज्य संघको ज्ञापन बुझ्दै मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री यादवले प्रहरीले धेरैजसो झुटा मुद्दामा फसाएर प्रदेशवासीलाई दुःख दिनेगरेको भन्दै सुनचाँदी व्यवसायीका विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायतसँग कुरा गर्ने र जनकपुरधामका उद्योगीव्यापारीको ज्ञापनपत्र प्रधानमन्त्री समेतलाई दिने जानकारी दिए ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको अन्तरप्रदेश परिषद् बैठकमा सहभागी हुन मुख्यमन्त्री यादव आजै(आइतबार) संघीय राजधानी काठमाडौं जाँदैछन् । ‘यस विषयलाई लिएर म अन्तरप्रदेश परिषद् बैठकमा पनि कुराकानी गर्नेछु,’ मुख्यमन्त्री यादवले भने ।
जनकपुर उद्योगवाणिज्य संघले आइतबर आधा दिन जनकपुरधामका व्यापारिक प्रतिष्ठान बन्द गर्दै व्यापारीहरूको जुलुसहित जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा ज्ञापनपत्र बुझाउने क्रममा व्यापारी प्रतिनिधिले मुख्यमन्त्री यादवलाई भेटेका हुन् ।
व्यापारी प्रतिनिधिमण्डलको नेतृत्व गरेका जनकपुर उद्योगवाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सुनचाँदी व्यवसायीमाथि झुटा मुद्दा सिर्जना गरिएको दाबी गरिएको छ ।
ज्ञापनपत्रमा झुटा मुद्दा सिर्जना गर्ने धनुषा प्रहरीका उपरीक्षक मित्रबन्धु शर्मा र बन्दुक देखाई पक्राउ गर्ने प्रहरी दिपेन्द्रकुमार राजलाई तत्काल निलम्बन गरी झुटा मुद्दा सिर्जना गर्नेबारे छानबिनको माग गरिएको छ ।
झुटा बरामदी मुचुल्का तयार गर्ने प्रहरी कर्मचारीसमेतका विषयमा छानबिनको माग गरिएको ज्ञापनपत्रमा राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट दर्ता गरिएको झुटा मुद्दाको तत्कालै अनुसन्धान गरी बरामद गरिएका गहना र धरौटी रकम फिर्ता गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा संघले कानुनसम्मत व्यापार व्यवसाय गर्न पाउने अधिकार प्रत्याभूत गर्न र शान्तिसुरक्षाको व्यवस्था कायम गर्न समेत माग गरेको छ ।
जनकपुरधामका चार सुनचाँदी व्यापारीहरूमध्ये कालीगढ भनिएका अजय र संजय तथा ठाकुरलाई मंगलबार धनुषा प्रहरीले पक्राउ गरेको थियो । साहलाई भने बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाई नियन्त्रणमा लिइएको व्यवसायीले बताउँदै आएका छन् । अनुसन्धानका लागि पथलैया पठाइएका चारैजनालाई बिहीबार अबेर साँझ धरौटीमा रिहा गरिएको छ ।
धनुषा प्रहरीले बिलबिजक बिना सुन कारोबार गरी राजस्व छली आरोपलाई तिनीहरूलाई पक्राउ गरिएको जनाउँदै आएको छ ।