सोमबारबाट संसद्को हिउँदे अधिवेशन सुरु

२०८० माघ २१, आईतवार २०:४०


काठमाडौं, २१ माघ । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ ।

साथै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यतालिका छ ।

त्यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको छ । यसैगरी, राष्ट्रियसभामा उत्पति भएर सन्देशसहित प्राप्त विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल हुनेलगायतका कार्यतालिका रहेको छ ।
-न्युज कारखाना

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH