फोहोर व्यवस्थापनमा बर्दिवासको अग्रता

टोलपडोस समाचारदाता
बर्दिवास, २२ माघ ।
दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रिन सिफ्ट परियोजनासँग साझेदारी गरेको छ । Green ShiftM Circularity of Plastic Waste for Net–Zero Carbon Nepal (GreenShift Nepal), चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यान्वयन हुन लागेको चार वर्षीय परियोजना हो । यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व CREASION ले लिएको छ भने यसका कन्सोर्टियम साझेदारहरू Youth Innovation Lab (YI–LAB) र Restless Development रहेका छन् ।
त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा फेलो राख्नका लागि वेस्ट स्मार्ट फेलोसिप सम्झौतामा पनि हस्ताक्षर गरेको छ ।
बर्दिवास नगरपालिकाका उपमेयर तारादेवी महतोले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘हामी यस परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं ।’
उनले प्रस्तावित गतिविधिहरूले बर्दिवास नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो प्रभाव पार्ने र यस परियोजनालाई कार्यान्वयन गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका नौवटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरूको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ ।
परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने; प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवद्र्ध्नका लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने; ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसँग काम गर्ने; युवालाई पैरवी र सचेतना अभियानमा संलग्न गराउने र युवा र सफाइकर्मीको संस्थाको सक्रिय संलग्नतामार्फत समावेशी र प्रमाणमा आधारित नीति निर्माणका लागि तीन तहका सरकारलाई सहयोग गर्ने उद्देश्य राखेको छ ।
यसैगरी नेपालको सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतालाई यस परियोजनाले प्रवद्र्धन गर्दछ । यसले सन् २०३० सम्ममा सय नगरपालिकाहरूमा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको राष्ट्रिय निर्धारित योगदान (एनडिसी) लक्ष्यहरूमा पनि योगदान पुर्याउँछ ।
नीति विकास, सचेतना अभियानहरू र क्षमता–निर्माण पहलहरूमा सक्रिय संलग्नताको माध्यमबाट बर्दिवास नगरपालिकाले चक्रीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ । जसले गर्दा दिगोपन र वातावरणीय व्यवस्थापनका राष्ट्रिय लक्ष्यहरूमा योगदान पुग्नेछ ।
विगत केही दशकमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ । जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्ववपूर्ण चुनौतीहरू सिर्जना गरेको छ ।
नेपालभरका ल्यान्डफिलहरूमा दैनिक करिब छ सय टन प्लाष्टिक फोहोर फालिन्छ । जुन प्रतिवर्ष एक्काइस लाख नौ हजार टन हो ।
त्यसैगरी नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब बीस हजार छ सय टन हुने अनुमान छ । यी प्लास्टिकहरू समयको साथ वातावरणमा सञ्चित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ । त्यसैले प्लाष्टिकको परिक्रमा प्रवद्र्र्धन गर्न ग्रिन सिफ्ट नेपालको महत्वपूर्ण भूमिका रहनेछ ।