सामाजिक सुरक्षाका लागि मधेशका ४७ तहसँग सम्झौता

२०८० माघ २२, सोमबार १८:२२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सम्झौतापत्रमा हस्ताक्षरपछि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र हँसपुर नगरपालिकाका मेयर प्रदीप यादव । तस्बिर : सामाजिक सुरक्षा कोष

टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ माघ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मधेश प्रदेशका तीन जिल्ला सर्लाही, महोत्तरी, धनुषाका ४७ स्थानीय तहले एकैपटक सम्झौता गरेका छन् ।

गत शनिबार र आइतबार महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोष तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानीय तहका तर्फबाट जनप्रतिनिधिले श्रमिकलाई सामाजिक सुरक्षा योजनामा लैजान सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एकैपल्ट ४७ स्थानीय तहसँग सम्झौता गरेर मधेश प्रदेशका तीन जिल्ला सर्लाही, महोत्तरी र धनुषाले इतिहासको सुरुवात गरेको बताए ।

सामाजिक सुरक्षा कोषका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने एक हजार एक सय ९० रुपैयाँ मासिक रूपमा योगदान गर्नुपर्छ ।

त्यसमा स्थानीय तहले उक्त रकमको ९.३७ प्रतिशत अर्थात् एक हजार १३ रुपैयाँको योगदान गर्नेछन् । त्यसबाट विभिन्न योजनामा श्रमिकले सुविधा पाउनेछन् ।

औषधोपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धास्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ताले सुविधा पाउने मन्त्री भण्डारीका स्वकीय सचिव रञ्जित निष्पक्षले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH