हाकिमलाई ‘समाचारको पारिश्रमिक’ माग्ने त्रास !
‘पत्रकारसँग कुरा गर्दा मोबाइल क्यामरा अन गर्छन् कार्यालयका कर्मचारी’
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ माघ ।
पत्रकारका नाममा केही व्यक्तिले समाचारको पारिश्रमिक मागेका भन्दै कृषिज्ञान केन्द्र धनुषाका प्रमुख डा.रामचन्द्र यादवले समाचार संकलनका लागि त्यहाँ पुग्ने सञ्चारकर्मीहरूसँग कुरा गर्दा सतर्कता अपनाउन थालेका छन् ।
सोमबार केन्द्रको जनकपुरधामस्थित कार्यालय पुगेका सञ्चारकर्मीहरूको एक समूहसँग कुरा गर्दै डा.यादवले आफ्नो हातमा रहेको क्यामरा अन गरे र भने ‘भन्नुस्, तपाईँहरूको प्रश्न के छ ?’
एउटा मोबाइल क्यामरा अन गरेर पनि पत्रकारसँग कुरा गर्न असजिलो मानेका डा.यादवले कार्यालयकै अर्का एक अधिकृत बोलाए । ती अधिकृतले पनि मोबाइल क्यामरा अन गरे । उनले पत्रकारहरूका एकएक प्रश्न क्यामरामा कैद गरे ।
मकर मेलाको अवसर पारेर धनुषाको धनुषाधाममा गत माघ २१ गते आयोजित कृषि प्रदर्शनी मेलाका विषयमा पत्रकारले जिज्ञासा राखिरहँदा कार्यालय प्रमुख यादव र अर्का एक अधिकृतले निरन्तर मोबाइल क्यामराबाट दृश्यांकन गरिरहे ।
उनले भने, ‘अब पत्रकार भनाउँदाले मात्र होइन, हामीले पनि क्यामरा अन गरेर भिडियो बनाउनुपर्छ ।’
माघ २१ र २२ गतेका लागि तोकिएको कृषि प्रदर्शनी मेला एक दिनमै सकाइएको र पूर्वतयारी अभावमा मेलामा कृषक सहभागिता कम भएको लगायतका विषयमा जानकारी लिन पत्रकारहरू सोमबार समाचार संकलन गर्न केन्द्रको कार्यालय पुगेका थिए ।
धनुषाधामको कृषि प्रदर्शनी मेलाको उद्घाटन कभर गर्न भनी पुगेका केहीले आफूहरूसँग ‘पारिश्रमिक’ मागेका र पाँच सयका दरले दिन खोज्दा नमानेका बरु उल्टै धम्क्याएका कारण दिक्क भएको डा.यादवको भनाइ थियो ।
‘हाम्रो नम्र्समा समाचार संकलन गर्नेलाई पैसा दिने थिएन । तर पनि करबल गरेकाले पाँच सयका दरले दिन खोजेँ । हिसाब जोडेर नै पच्चिस सय रुपैयाँ दिएँ । तर, कम भयो भन्दै लिन मानेनन्, पैसा फ्याके,’ डा. यादवले सञ्चारकर्मी समूहतर्फ इङ्गित गर्दै भने, ‘तपाईँहरूकै बीचमा छन् त्यो मान्छे ।’
सञ्चारकर्मीहरूले कुनै पनि विषयमा व्यक्ति गलत छन् भने तिनका विषयमा कुरा गर्न र सबैलाई आरोप नलगाउन भनेपछि डा.यादवले त्यहाँ रहेका एक मिडिया प्रवद्र्धक (बजार व्यवस्थापक) सँग भनाभन नै गरे ।
उनले भने, ‘उहाँ नै हो हामीसँग पैसा माग्ने । पैसा फ्याकेको हामीसँग भिडियो छ । आज पनि पैसा नै माग्न आको हो भनेर भिजुअल गरिरहेका छौं ।’
ती बजार प्रवद्र्धकको भनाइ भने फरक थियो । उनले भने, ‘कार्यक्रमका विषयमा समाचार कभर गर्नेका लागि हामीसँग दिने परिवहन खर्चको व्यवस्था छ भनेर पत्रकार बोलाइदिन कार्यालयले नै भनेको हो । कर्मचारीले भर्पाई गराएरै रकम दिन्छौं भनेका पनि हुन् । कार्यक्रम सकिएपछि सकारेजति पैसा नदिएपछि हामीले अस्वीकार गरेका हौं ।’
तीन दिनका लागि प्रचारित गरिए पनि एक दिनमै उद्घाटन र समापन भएको कृषि प्रदर्शनी मेलामा एघारवटा स्टल र सयभन्दा बढी कृषि सामग्री प्रदर्शन गरिएको छ । कार्यक्रमका लागि दुई लाख पचास हजार रुपैयाँ छुट्याइएको थियो ।
केन्द्र प्रमुख यादवले माघ २० गते कार्यक्रम स्थलसम्म सामान ओसार्न, २१ गते प्रदर्शन गर्न र २१ गते प्रदर्शनी नभ्याए २२ गते पनि गर्ने योजनाअनुसार नै तिथमितिबारे प्रचार गरिएको जानकारी दिए ।