मधेश प्रदेशमा परीक्षा घोटाला/ दुई कर्मचारीको जागिर चट्ट, हाकिमसहित आठ अधिकृत फन्दामा

२०८० माघ २३, मंगलवार १६:३६
जनकपुरधामको माछाबजारस्थित सिटिभिटीको मधेश प्रदेश कार्यालय । तस्बिर : सञ्जु

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, २३ माघ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मधेश प्रदेशले प्रदेशभित्रका विभिन्न शैक्षिक प्रतिष्ठानमा निःशुल्क छात्रवृत्तितर्फ डिप्लोमा तथा प्रमाणपत्र अध्ययन गरिरहेका २९ जना विद्यार्थीको सिफारिस रद्द गरेको छ ।

शैक्षिकसत्र २०८०/२०८१ का लागि गत भदौ महिनामा लिइएको प्रवेश परीक्षाबाट निःशुल्क छात्रवृत्तितर्फ अध्ययनका लागि सिफारिस गरिएका ती २९ जनाको परीक्षाफल त्रुटिपूर्ण भएको ठहर भएपछि सिटिइभिटीको परीक्षा समितिले सिफारिस रद्द गर्ने निर्णय गरेको हो ।

सिटिइभिटीको मधेश प्रदेशको परीक्षाफल र त्यसमाथि छानबिन गर्न गठित कार्यटोलीको प्रतिवेदनमा उल्लेखित परिणामबीच भिन्नता देखिएपछि परीक्षा समितिले चार महिना ढिलो गरी नयाँ ‘रिजल्ट’ प्रकाशन गरेको छ । नयाँ रिजल्ट प्रकाशनसँगै सिटिइभिटी मधेश प्रदेशको परीक्षाफलबाट निःशुल्क अध्धयनका लागि सिफारिस गरिएका ती विद्यार्थीको निःशुल्क पढ्ने सुविधा खोसिएको छ ।

निःशुल्क पढ्ने सुविधा खोसिएकामा डिप्लोमा तथा प्रमाणपत्र तहथर्फ फार्मेसी, स्टाफनर्स, एचए, आयुवैद एचए, ल्याब, कृषि विषयका विद्यार्थी हुन् ।

परीक्षा समितिको गत पुस २२ गतेको निर्णयबाट सिफारिस रद्द गरिएका विद्यार्थीहरूले भने अहिले अध्ययन गरिरहेकै संस्थामै पूर्ण शुल्कीय प्रशिक्षार्थीका रूपमा अध्ययन गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । ती विद्यार्थीहरू गत चार महिनादेखि सिफारिसअनुसारका विषयमा विभिन्न शैक्षिक संस्थामा पढिरहेका छन् ।

सिटिइभिटी मधेश प्रदेशले परीक्षाफल प्रकाशन गरिरहँदा कम्युटरमा प्रविष्टि गर्दा अस्वाभाविक अंकोन्नति भएर ती परीक्षाथीहरूले वर्गीकृत छात्रवृत्तितर्फ निःशुल्क पढ्ने सिफारिस पाएका थिए । सिटिइभिटी प्रदेश कार्यालयले प्रकाशित गरेको परिणाम गलत तथा प्रभावित रहेको भन्दै छात्र संगठनहरूले दबाब दिएपछि सिटिभिटीले छानबिन समिति गठन गरेको थियो । सुरुमा सिटिभिटीको परीक्षा नियन्त्रण कार्यालयले छानबिन गरी एक चरण सच्चयाएको परिणाममा दोस्रोपटक गठित कार्यदलले पुनरावलोकन गरी दिएको प्रतिवेदनका आधारमा परीक्षा समितिले अन्तिम परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षा समितिले सिटिइभिटी मधेश प्रदेश कार्यालयको परिणाम र आफ्नो परिणामसँगै अन्तिम परीक्षाफलमा कारण समेत लेखेको छ । सिटिइभिटी मधेश प्रदेश कार्यालयले परीक्षाफल प्रकाशित गर्दा जथाभाबी अंकोन्नति गरी ती २९ छात्रलाई अध्ययन सिफारिसयोग्य बनाइएको पाइएको छ ।

नियतवश त्रुटिपूर्ण परीक्षाफल प्रकाशित गरी योग्य तथा प्रतिस्पर्धी छात्रलाई निःशुल्क पढ्नबाट वञ्चित गराई कम अंक ल्याउनेलाई सिफारिस गर्ने आधार तयार गर्ने काममा संलग्न भएको भन्दै सिटिइभिटीले प्रशासन सहायक गजेन्द्र मुखिया र सूचना तथा प्रविधि अधिकृत सिम्पी सिँहलाई जागिरबाट हटाएको छ । प्रशासन सहायक मुखिया र सिँह करारका कर्मचारी हुन् ।

निर्देशिकामा उल्लेखित आधार र मापदण्डविपरीत मनपरी अंक प्रदान गरिएको विषयमा सिटिइभिटी मधेश प्रदेशमा कार्यरत अन्य आठ कर्मचारीमाथि छानबिन भइरहेको छ । परीक्षाफल प्रकाशित भएका बेला सिटिइभिटी मधेश प्रदेशका निर्देशक रहेका अरविन्दकुमार चौधरीलाई संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा तानिएको छ ।

परीक्षाफल प्रकाशन गर्ने कार्यमा समिति तथा विभिन्न उपसमितिमा रहेर काम गर्ने अन्य सिटिइभिटी कर्मचारीहरूमा परीक्षा प्रमुख समेत रहेका राजकुमार चौधरी, उपनिर्देशक वसन्त यादव, उपनिर्देशक सञ्जय यादव, सूचना प्रविधि अधिकृत उदीत यादव, प्रशासकीय अधिकृत दिगम्बर झा, लेखा अधिकृत ब्रह्मदेव ठाकुर र मधेश प्रदेशको शिक्षा मन्त्रालयका अधिकृत रामहृदय यादवमाथि अनुसन्धान भइरहेको छ ।

‘छानबिन अन्तिम चरणमा पुगेको छ । अनुसन्धानमा तानिएका स्थायी कर्मचारीहरूको संलग्नता प्रमाणित हुने प्रशस्त आधार देखिएका छन् । त्यसैले उनीहरू दोषी ठहर भई जागिर गुमाउने निश्चित छ,’ सिटिइभिटीका एक अधिकारीले भने ।

परीक्षाफल घोटाला प्रकरणपछि सिटिइभिटीको मधेश कार्यालय प्रमुखमा निर्देशक नागेन्द्र साह आएका छन् । उनी सो प्रकरणमा डामिएका चौधरीभन्दा अघि पनि यसै कार्यालयमा प्रमुख थिए ।

निर्देशक चौधरीले सच्चयाइएको प्राप्ताङ्कका आधारमा निःशुल्क पढ्न सिफारिस योग्य परीक्षाथीहरूले सिटिइभिटीको कार्यक्रमअन्तर्गत जुनसुकै शैक्षिक संस्थामा पढिरहेका भए पनि निःशुल्क गरिने बताए । उनले ती योग्य निर्धारण गरिएका विद्यार्थी आगामी वर्षमा पढ्न चाहे निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।

पछिल्लोपटक योग्यताक्रममा निःशुल्क पढ्न पाउने २९ जनामा १९ जना सम्पर्कमा आइसकेको र अन्य पनि छिट्टै सम्पर्कमा आउने निर्देशक साहले बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH