निमित्त हाकिम पोस्न खोज्दा जनकनन्दिनी गाउँपालिका अध्यक्षविरुद्ध आन्दोलन

२०८० माघ २३, मंगलवार २०:०५
अध्यक्ष दिपिनदेव यादवको मनोमानीका कारण गाउँपालिका कार्यालय अस्तव्यस्त भएको भन्दै गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता

जनकपुरधाम, २३ माघ ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाको कार्यपालिका कार्यालयमा राजनीतिक नेतृत्वसँगै कर्मचारी नियमित नआउँदा र तिनका ढिलासुस्तीका कारण सेवाग्राहीले सेवा प्राप्त गर्न कठिन भएको, विकास निर्माणलगायतका कामकाज अघि बढ्न नसकेको लगायतका विषयमा असन्तुष्ट विभिन्न राजनीतिक दलका प्रतिनिधिले मंगलबार अध्यक्ष खोज्न कार्यपालिका पुगेका छन् ।

केही दिनअघि गाउँपालिका कार्यालय व्यवस्थित बनाउँदै सेवाप्रवाह तथा अन्य निर्धारित कार्य तीव्रताका साथ सम्पन्न गर्न अध्यक्ष दिपिनदेव यादवको ध्यानाकृष्ट गराएका उनीहरूले अपेक्षाअनुसार गाउँपालिका कार्यालयमा सुधार हुनुको सट्टा थप लथालिङ्ग भएको भन्दै मंगलबार अध्यक्ष खोज्दै गाउँपालिका कार्यालय पुगेका हुन् ।

दलका प्रतिनिधिहरू गाउँपालिका कार्यालय पुग्दा कार्यालय समयमा बहुसँख्यक कर्मचारी उपस्थित थिएनन् भने पन्ध्र दिनभन्दा बढी समयदेखि धाइरहँदा पनि नाता प्रमाणितजस्ता सामान्य काम पनि हुन नसकेको आदि गुनासा सेवाग्राहीबाट सुनेका थिए ।

जनकनन्दिनी गाउँपालिकामा केही समययता प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा शाखाहरूबाट हुने सामान्य काममात्र हुन सकिरहेको छ । अन्य महत्वपूर्ण काम भने थाँती छन् ।

केही दिनअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा त्यहाँ पदस्थापित भएका शाखा अधिकृत सर्वजीत झाले अचानक कामकाज छाडेर अन्यत्र सरुवा गराएका छन् । अध्यक्ष दिपिनदेवले गाउँपालिकामा वर्षौंदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गरेका स्वास्थ्य शाखाका कर्मचारी अयोधी यादवलाई नै ‘हाकिम बनाई सेटिङ्ग’ मा कामकाज गर्न खोजेको आरोप दलका प्रतिनिधिहरूको छ ।

नेकपा एकीकृत समाजवादीका सुनिल मण्डलले जनकनन्दिनीमा जङ्गलराज रहेको बताए ।

कार्यपालिका कार्यालय पुगेकाहरूमा अध्यक्षकै दल जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अघिल्लो कार्यकालमा वडाध्यक्ष रहेका धर्मेन्द्र गोइत, गत स्थानीय तह चुनावमा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार सुदेश चौधरी, पूर्व उपमेयर भारती कार्की, काँग्रेसकै राकेश गोइत आदि छन् ।

अध्यक्ष दिपिनदेव यादवले भने आफ्नो कार्यकालमा गाउँपालिकाको तस्बिर बदलिएको दाबी गर्दै विरोधका लागि विरोध भइरहेको बताए ।

उनले भने, ‘अयोधी काँग्रेसकै नेतृत्व भएको अघिल्लो कार्यकालका बेलादेखि नै निमित्त हाकिम रहँदै आएका हुन् । चुनाव जितेपछि मैले हटाउन खोज्दा कार्यपालिकामा बहुमत रहेको काँग्रेसका प्रतिनिधिहरूले नै रोकेका हुन् । पछि काँग्रेसकै काँग्रेसका प्रतिनिधिहरूका करबलमा नयाँ प्रशासकीय अधिकृत ल्याएँ । तर, उनी टिकेनन् ।’

अध्यक्ष दिपिनदेवका अनुसार आफ्नै प्रस्तावमा बोर्ड बैठकबाट करारका कर्मचारीलाई तलब खुवाउन भएको निर्णय कार्यान्वयन गर्न नमानेका प्रमुख प्रशासकीय अधिकृत झा जनकपुरबाट काममा नफर्कने जानकारी गराएको बताए ।

उनले आफू चार दिनयता व्यक्तिगत काममा रहेको र संयोगले उपप्रमुख सीमापारि जयनगर हुँदा मंगलबार कार्यपालिका कार्यालयमा राजनीतिक नेतृत्व नदेखिएको भन्दै कर्मचारीहरू उपस्थित नरहेको कुरा झुटा भएको बताए । तर, दलका प्रतिनिधिमध्येका एक राप्रपाबाट अध्यक्ष प्रत्याशी बनेका कमलेश झाले साझा गरेको भिडियोमा कार्यपालिका कार्यालयमा कर्मचारी नभएको देखिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH