उखु मिलका मालिकले कुटे र लुटे पत्रकार
![](https://tolpados.com/wp-content/uploads/2024/02/Anil_Tiwari.jpeg)
अनिल यादव/टोलपडोस
रौतहट, २३ माघ ।
कटहरिया नगरपालिकामा रहेको बाबा वैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारमाथि निर्घात कुटपिट भएको छ ।
किसानले लगेको सय क्विन्टल उखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए । किसानहरूले उखु जोख्ने ठाउँमा नारा–जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीलाई मिल सञ्चालकले कुटपिट गरेका हुन् ।
कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिका सञ्चालक अजय प्रकाशकै मिलेमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन् । आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ ।
घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।