जनकपुरधाम : जहाँ लाइसेन्स लिँदैमा चिकित्सक हुन्छन् ‘वरिष्ठ’

२०८० माघ २५, बिहीबार १८:५१
विशिष्टीकृत भनेर दाबी गर्ने विवादास्पद जनकपुर न्युरो अस्पताल । जहाँका चिकित्सक पनि वरिष्ठको फुर्को लगाउने गरेका छन् । तस्बिर : अनिल

अनिलकुमार कर्ण/टोलपडोस

जनकपुरधाम, २५ माघ ।

झन्डै साढे चार दशक भयो डा.विजयकुमार सिँहले मेडिसिनमा स्नातकोत्तर भएर चिकित्सकीय अभ्यास गर्न थालेको । नाम चलेका संस्थानबाट चिकित्साशास्त्र पढेका उनले सरकारी चिकित्सा अधिकारीका रूपमा समेत काम गरे र शिक्षण अस्पतालमा पनि पढाए । तर, उनले कहिल्यै ‘वरिष्ठ चिकित्सक’ को फुर्को झुन्ड्याएनन् । बिरामीको चापका दृष्टिले ‘अतिव्यस्त’ श्रेणीमा पर्ने डा.सिँहलाई वरिष्ठताको पगरी गुत्थन मन पनि लागेन ।

तर, जनकपुरधामका बहुसँख्यक चिकित्सक चिकित्सा क्षेत्रका आधार, मापदण्ड र अभ्यासको ख्याल नगरीकन वरिष्ठ फिजिसियन, वरिष्ठ सर्जन र वरिष्ठ कन्सल्टेन्ट आदि फुर्को नामसँग जोड्ने गरेका छन् ।

‘चिकित्साशास्त्रमा स्नातकोत्तर सक्नेबित्तिकै वरिष्ठ भनाउने र लेखाउनेहरूको कमी छैन,’ रगत तथा क्यान्सर रोग विशेषज्ञ डा.अजयकुमार झाले भने, ‘स्नातकोत्तरपछि चिकित्सकले कुन विशेषता राख्ने भन्ने विषयमा सरकारले प्रस्ट ढंगले निर्देशन दिनुपर्छ र सोको नियमन पनि गर्नुपर्छ ।’

जनकपुरधामका निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक आदिमा आफूले पढेका विषयमा वरिष्ठ नलेख्ने वा नलेखाउने डाक्टर छैनन् भन्दा पनि हुन्छ । प्रिसकेप्सनदेखि बाहिर र भित्र बोर्डहरूमा ठूल्ठूला अक्षरमा डाक्टरका नाउँ अगाडि वा पछाडि वरिष्ठ लेखिएका छ्यापछ्याप्ती देख्न सकिन्छ ।

‘मानौँ जनकपुरधाम वरिष्ठ चिकित्सकहरू मात्रको सहर हो । यहाँ कोही कनिष्ठ छैनन् । जो वरिष्ठ छैनन् उ तालिमप्राप्त विशेषज्ञ छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिएर पहिलो बिरामी जाँच गर्दै वरिष्ठ वा विशेषज्ञ बनेका डाक्टरहरूको थलो बनेको छ यो ठाउँ,’ चिकित्साक्षेत्रलाई नजिकबाट नियाल्ने एक जानकारको टिप्पणी छ ।

खास विषयमा वरिष्ठ वा विशेषज्ञ हुने रुचिको पछाडि चिकित्सकको सामाजिक प्रतिष्ठा आर्जन गर्ने, त्यसमार्फत बृहत् सामाजिक स्वीकृति प्राप्त गर्ने र अधिकाधिक बिरामी तान्न सफल भएर बढी धनार्जन गर्ने व्यापारिक मनोविज्ञान गाँसिएको छ ।

सरकारी अस्पतालमा उपचार नगराई क्लिनिक वा निजी अस्पतालसम्म आइपुग्ने बिरामी सामान्यतया रोग बिसेक गराउन अन्यत्र रिफर नभई एक ठाउँमै पैसो खर्च गर्ने मनस्थितिमा पुगिसकेका हुन्छन् । ती बिरामी अड्याउन वरिष्ठको फुर्कोले ठूलो मद्दत गर्नेगरेको अनुभवबाट नै वरिष्ठ बन्ने चाहना चिकित्सकमा पलाएको हो ।

आफूकहाँ बिरामीेको लर्काे लाग्ने गरेकाले आफू अत्यधिक व्यस्त रहेको छनक दिन प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एक चिकित्सकले अस्पतालको ओपिडीमा जाँच गरेका बिरामीलाई नजिक रहेका आफ्नो क्लिनिकमा औषधि लेखाउन बोलाउने गर्छन् ।

‘यसबाट दुईथोक उपलब्धि हुन्छन् । एउटा, डाक्टरका खोजीमा अस्पताल लाइन चहार्नेलाई आकर्षित गर्नेगरी क्लिनिकमा बिरामीको सँख्या बढी देखिन्छ अर्को तीमध्ये केही बिरामी फलोअप वा अन्य उपचारका लागि त्यही क्लिनिकलाई रोज्ने सम्भावना बढ्छ,’ एक अर्का जानकारले भने, ‘यस्तो समझबाट निर्देशित डाक्टरले वरिष्ठ लेखे भन्दैमा आश्चर्य मान्नुपर्ने कुरा नै छैन ।’

चिकित्सा पेसालाई नियमन गर्ने नेपाल मेडिकल काउन्सिलका सदस्य रहिसकेका मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा.अंकुर साहले सरकारी सेवामा तहका आधारमा कन्सलटेन्ट, सिनियर कन्सलटेन्ट र चिफ कन्सलटेन्टको व्यवस्था रहेको जानकारी दिए ।

उनले चिकित्साशिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र निजी तथा सरकारी अस्पतालमा कार्यअवधि र अनुभव आदिका आधारमा मात्र वरिष्ठताक्रम तोकिने दिशानिर्देश गरेको सुनाए । यी ठाउँमा वरिष्ठ कन्सलटेन्ट बन्न स्नातकोत्तरपछि कम्तीमा दस वर्ष लाग्न सक्छ । तर प्रादेशिक अस्पताल वा अन्य कुनै स्वास्थ्य संस्थामा करारमै आबद्ध भएकै मितिले स्नातकोत्तर चिकित्सकहरू वरिष्ठ कन्सलटेन्ट लेख्न परहेज गर्दैनन् ।

स्नातकोत्तर गरेका चिकित्सकको प्रवेश सामान्यतया आठौं तहबाट सरकारी सेवामा प्रवेश हुन्छ । आठौं तह भनेको मेडिकल अधिकृत पद हो ।

रगत तथा क्यान्सर रोग विशेषज्ञ झाका अनुसार स्नातकोत्तरलगत्तै विशिष्कृत ठूला निजी अस्पतालमा काम गर्ने चिकित्सक रजिस्ट्रार हुन्छन् । तीन वर्ष अवधिको यो काम गर्ने चिकित्सकलाई शिक्षण अस्पतालमा सिनियर रेजिडेन्ट/लेक्चरर भनिन्छ । सम्बन्धित विभागमा सबैभन्दा कनिष्ठ मानिने यो तहका चिकित्सकले बिरामी भर्ना, रोगको प्रारम्भिक जाँच र निदान, परीक्षण सिफारिस, उपचार आदिबाट निको पारी बिरामीलाई घर पठाउने काम गर्छन् । विभागभित्र विभिन्न किसिमका समन्वयात्मक काम पनि यिनकै जिम्मामा हुन्छ ।

त्यसपछि बिरामीको जाँच, रोगनिदान, आफूभन्दा वरिष्ठसँग छलफल र अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मेवारी विशिष्कृत ठूला निजी अस्पतालतर्फ जुनियर कन्सलटेन्टको हुन्छ । रजिस्ट्रारका रूपमा तीन वर्ष काम गरेपछि कुशलताका आधारमा जुनियर कन्सलटेन्टमा पदोन्नति हुन्छ । शिक्षण अस्पतालमा यो सरहको पद असिसटेन्ट प्रोफेसर हुन्छ ।

तीन वर्ष वा पाँच वर्ष काम गरिसकेपछि जुनियर कन्सलटेन्टको पदोन्नति कन्सलटेन्टमा हुन्छ । जसलाई शिक्षण अस्पतालतर्फ एशोसिएट प्रोफेसर भनिन्छ । कन्सलटेन्टले गारो र जटिल प्रकृतिका रोगीको उपचार गर्ने, रोग उपचार र निदानलगायतका विषयमा सल्लाह दिने आदि काम गर्छन् ।

कन्सलटेन्टका रूपमा तीन वर्ष काम गरिसकेपछि सिनियर कन्सलटेन्ट बनेका चिकित्सकले विभागको नेतृत्व गर्छन् । उनको कार्याधिकारमा विभागका बहुआयामिक काम हुन्छन् । उनले असमान्य र बिरल रोगको उपचारका लागि रोपम्याप तयार गर्छन् ।

शिक्षण संस्थानमा विशेष योगदान दिएका, वैश्विक स्तरमा स्वीकार्य अनुसन्धान गरेका र अन्य स्कलरलाई अनुसन्धान आदि कार्यमा सुझाव तथा निर्देशन दिन सक्ने ‘प्रोफेसर’ सरहको यो यो जिम्मेवारी मानिन्छ ।

जनकपुरमा हरेक चिकित्सक कन्सलटेन्ट भएका बेला बिरामी भने ठगिने गरेका छन् । तहगत रूपमा उपचार नहुँदा भर्ना गर्ने चिकित्सकले नै रोग निदान गर्ने र उपचार गर्ने गर्छन् । जसबाट अनाहकका परीक्षणको भार र औषधिको झोला बोकेर पनि रोग निको नभएका बिरामीलाई भारत वा नेपालकै अन्यत्र रिफर हुनुपर्ने स्थिति छ ।

‘समूहमा काम गर्न नचाहँदा रोग निदान र उपचारमा गल्ती बढी हुने सम्भावना रहन्छ । दस हजार रुपैयाँमा हुने निमोनियाको उपचारका लागि तीन लाख रुपैयाँ खर्चिनुपर्ने हुन्छ,’ डा.झाले भने ।

जनकपुरधाममा योग्य, दक्ष र प्रतिस्पर्धी चिकित्सक छन् । तर, उपचारको यस्तो पद्धतिका कारण उनीहरूको कुशलता आझेलमा परी यो ठाउँ रुघाखोकी उपचार हुने केन्द्रमा परिणत हुँदैछ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH