कमला सिँचाइ : सोह्र वर्षपछि परवाहा शाखा नहरको चुनाव हुँदै
टोलपडोस समाचारदाता
जनकपुरधाम, २६ माघ ।
कमला सिँचाइ व्यवस्थापन आयोजनाअन्तर्गत पश्चिमी नहर प्रणालीको परवाहा शाखामा जलउपभोक्ता समितिको निर्वाचन आज शुक्रबार हुँदैछ । कमला नदी प्रणालीको पश्चिमतर्फ धनुषामा रहेको परवाहा शाखा नहरले निर्वाचन परिणामसँगै एघार सदस्यीय कार्यसमिति पाउनेछ ।
कमला सिँचाइ व्यवस्थापनअन्तर्गतकै शाखा तहमा भइरहेको यो पहिलो चुनाव हो । यसअघि परवाहा शाखाअन्तर्गतका १५ प्रशाखासहित ५५ प्रशाखामा कार्यसमिति निर्वाचन सम्पन्न भइसकेका छन् । परवाहा शाखाको निर्वाचनमा यसअन्तर्गतका १५ प्रशाखामा रहेका एघार सदस्यीयका दरले सबै कार्यसमितिका एक सय ६५ पदाधिकारी एवम् सदस्य मतदाता छन् ।
अध्यक्षलगायत प्रशाखाका पदाधिकारीले भने उम्मेदवार बन्न नपाउने वैधानिक प्रावधान छ ।
१६ वर्षपछि हुन लागेको शाखा नहरको जलउपभोक्ता समिति निर्वाचनलाई ऐतिहासिक मानिएको छ । अगुवा उपभोक्ताहरूबीचको राजनीतिक तथा व्यक्तिगत द्वन्द्व र कमला सिँचाइ व्यवस्थापन आयोजनाका विगतका नेतृत्वको उदासीनताका कारण यस नहर प्रणालीमा प्रशाखा, शाखा र मूल नहरमा चुनाव हुन सकेनन् ।
चारवर्षे कार्यकालका लागि भइरहेको परवाहा शाखा निर्वाचनमा सोनिगामाका मेथुर चौधरी र परवाहाका सुजितकुमार मिश्र अध्यक्ष पदका उम्मेदवार छन् । जलउपभोक्ताहरू दलीय आधारमा ध्रुवीकृत हुने गरे पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवारकै हैसियतमा सहभागिता जनाउनुपर्ने हुन्छ ।
आयोजना प्रमुखमा इन्जिनियर वीरेन्द्र यादव पदस्थापित भएपछि गत वर्षबाट जलउपभोक्ता समिति चुनावका लागि गृहकार्य थालिएको थियो । ‘झन्डै डेढ दशकपछि भइरहेको यो निर्वाचनमा मतदाता उत्साहित छन् । निर्वाचन शान्तिपूर्ण ढंगले भइरहेको छ,’ कमला सिँचाइ व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर यादवले भने ।
जिल्लाको डुमरियाबाट परवाहासम्मको २२ किलोमिटर दुरी रहेको परवाहा शाखा नहरबाट छ हजार बिघा जग्गामा सिँचाइ हुँदैआएको छ ।
बाँध, कुलो, नहर र सिँचित क्षेत्रका लागि पानी वितरण प्रणालीको निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनमा सहभागिता र तिनका लागि स्रोत संकलन तथा उपयोग गर्नुका साथै सिँचाइ जलउपभोक्तालाई प्रभावकारी र समानुपातिक ढंगले जलवितरण गर्नु आदि जलउपभोक्ता संस्थाहरूको उद्देश्य हुन्छ ।
आयोजना प्रमुख इन्जिनियर यादवले आगामी फागुनको मध्यसम्म मूल नहरको समिति गठन गरिसक्ने उद्देश्यका साथ शाखा तथा प्रशाखाका निर्वाचन अघि बढाइएको बताए । प्रणालीका चारवटा शाखाका चुनाव सकिएपछि मूल नहरको निर्वाचन हुनेछ ।