फुर्सदिला गोविन्दा प्रभु साहको ‘गाउँ’ मौलापुर आउँदै
अनिल यादव/टोलपडोस
रौतहट, २६ माघ ।
कुनै बेला फिल्मी क्षेत्रमा चर्चित र लोकप्रिय नायक गोविन्दा हिजोआज फुर्सदिलो भएका छन् । राजनीतिमा समेत भाग्य परीक्षण गरेका उनले पछिल्लो समयमा काम पाउन छाडेका छन् ।
करिअरको उत्कर्षमा निर्माता तथा निर्देशकलाई कयौँ दिनपछि भेट्न समय दिने गोविन्दाको परफरमेन्समा नयाँपन र दर्शक तान्ने तत्व पखालिएपछि फिल्मी दुनियाँका प्रवद्र्धकहरूले उनलाई भाउ दिन छाडेका छन् ।
नयाँ फिल्ममा काम नपाउने र उमेरले डाँडो काट्दै जाँदा ९० को दशकमा युवा दिलको धडकन मानिने गोविन्दाको फ्यान फलोइङ लगातार कम भइरहेको छ । जसकारणले उनले आम्दानी हुने स्टेज सो आदि पनि पाउन छाडेका छन् । विज्ञापन बजारबाट उनी पहिल्यै नै बाहिरिइसकेका छन् ।
मुम्बईमा बसिबियाँलो गरिरहेका गोविन्दा अहिले सुदूर गाउँका सानासाना स्टेजमा समेत देखिन थालेका छन् । आफ्नो स्टार छविको परबाह नगरी उनी नेपालको रौतहट जिल्ला आउने भएका छन् । रौतहटको मौलापुरमा आगामी फागुन २५ गते आयोजना हुन लागेको मधानि महायज्ञमा उनी सहभागी हुनेछन् ।
धार्मिक कार्यक्रममा सहभागी हुन आफू नेपालको मौलापुर आउन लागेको जानकारी एक भिडियोमार्फत गोविन्दाले दिएका छन् ।
विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सवको अवसर पारेर नाचगान समेत आयोजना गरिरहने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार बलिउड नायक गोविन्दा महायज्ञको उद्घाटनका दिन मौलापुरमा झुल्किनेछन् ।
भोजपुरीका सुपरस्टार भारतीय नायिका नीलम गिरी पनि मधानी महायज्ञमा सहभागी हुनेछिन् । प्रत्येक वर्ष हुने मधानी महाज्ञमा भगवान् शिवको पूजाअर्चना गरिन्छ । गत २०७६ सालदेखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दैआएको छ ।
महायज्ञको तयारी तीव्र गतिमा भइरहेको अधिकृत साहले बताए । उनले भने यस वर्षको मधानी महायज्ञमा फागुन २६ गते कुस्ती प्रतियोगिता दंगल हुनेछ । जसमा ३५ जना कुस्तीबाज सहभागी हुनेछन् ।
मौलापुरको पुरातात्विक महत्वको महादेव मन्दिर देशभरिका धार्मिक पर्यटकका लागि गन्तव्य बन्दैआएको छ । महायज्ञमा नेपाल तथा भारतका चर्चित कलाकारको सांस्कृति प्रस्तुति रहने नगरप्रमुख रिना साहले बताइन् ।