रातु नदी दोहनको दर्दनाक असर : घरनीखेत गुमाई विदेशिँदै छन् श्रवणहरू

२०८० माघ २६, शुक्रबार १६:४१

नदी खोस्रनेले भने बुझाएनन् सरकारलाई दाम

ठेक्का बन्दोबस्त गरी बर्दिवास नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गराइरहेको रातु खोला । तस्बिर : विशाल

विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, २६ माघ ।
भएको उर्वर जग्गा रातु नदीले कटान गरेपछि नौ वर्षअघि बर्दिवास–९ का श्रवण महतो साउदी अरब पुगेका थिए । एकातिर सिँचाइको समस्या र अर्कोतिर भएको जग्गा नै बाढीका कारण बगरमा परिणत भएपछि पारिवारिक भरणपोषणका लागि साउदी पुगेका महतोले कमाउनुभन्दा पनि धेरै गुमाएर फर्किए ।

‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको छ ।’

नौ वर्षपछि निकै आशा बोकेर घर फर्किएका महतोले पहिलेको स्थितिमा कुनै बदलाव आएको अनुभव गरेनन् । अवैध उत्खनन्कै कारण सिँचाइमा समस्या भएपछि परदेश गएका महतोले अहिले त नियमकानुनले नै खोला खस्रन थालेको महसुस गरेका छन् ।
अव्यवहारिक र अवैज्ञानिक उत्खनन्का कारण पानीका सतह भासिएकै कारण खेतीपातीमा समस्या भइरहेको उनको बुझाइ छ । स्वदेशमै केही गर्ने सोच लिएर थातथलो फर्केका महतो अहिले विरक्तिएका छन् ।

‘नवनिर्वाचित यो स्थानीय सरकारले पो केही गर्ला कि भनेको त अघिल्लो सरकारभन्दा पनि गएगुज्रेको देखियो,’ उनले भने । अब फेरि विदेश नै फर्किने तरखरमा छन् उनी । आम्दानीको मुख्यस्रोत खेतीकिसानी नै भए पनि खोला दोहनबाट कृषिक्षेत्रलाई असर गरिरहेको छ । तर, यसलाई रोक्ने प्रयास स्थानीय सरकारले नगरेकाले फेरि विदेश जाने तयारी गरिरहेको महतो बताउँछन् ।

उनीमाथि मात्र होइन अरू युवा पनि विदेश जाने तयारीमा छन् । बर्सेनि किसानहरूको बिघौँ जग्गा बगाएर बेघर बनाउँदा पनि स्थानीय सरकार स्वार्थसिद्धमा नै लागेको देखिएको स्थानीय युवा चेतनारायण महतो बताउँछन् ।

विशेषगरी अवैज्ञानिक तवरबाट रातु नदी उत्खनन् गाउँवासीका लागि मुख्य चिन्ताको विषय बनेको उनको भनाइ छ । ‘यसैपालि इनारमा पानी सुकेर जलेश्वरसम्म नै हाहाकारको स्थिति बन्यो,’ उनले भने, ‘स्थानीय सरकार जनताको समस्या समाधानमा कहिले लाग्छन् ?’

अहिले फेरि स्थानीय सरकारले नदीको पथलैया खण्ड, जुरे टोल खण्ड, किसाननगर खण्ड र फूलबारी टोल खण्डमा ठेक्का लगाएको छ । यही क्रममा ठेकेदार कम्पनीले गरेको उत्खनन्लाई लिएर आलोचना भए पनि त्यसलाई नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ ।

‘अहिले निकै गहिरा खाल्डा खनिएका छन्,’ वडा–६ का दधिराम काफ्लेले भने, ‘कयौँपटक जेसिभीको चाबी खोस्न पनि गयौँ, तर नगरप्रमुखले अटेर गर्दै दोहनलाई प्रोत्साहन गरिरहेका छन् ।’

विज्ञको चासो

पछिल्लो समय उत्खननको वैधतामाथि प्रश्न उठिरहेका बेला चुरेविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नदी उत्खनन्बारे सार्वजनिक समाचार हेर्दा निकै भयावह अवस्था देखिएको बताउँदै वातावरणविद् डा. नागेन्द्र यादवले रातुको उत्खनन्का विषयमा स्थानीय सरकार सचेत हुनुपर्ने सुझाब दिए । ‘चुरेमा पछिल्लो समय देखिएको पानी अभावको दोहन नै मुख्य कारक हो,’ उनले भने ।

२०७८ जेठमा गरिएको आइई रिपोर्टले हरेक खण्डबाट १२१५०० घनमिटर मात्र उत्खनन् गर्न सकिने बताएको छ । तर, ठेकेदार कम्पनीले उक्त समयमा सम्झौताभन्दा सात गुना बढी उत्खनन् गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो ।

नगरले बनाएको प्राविधिक नापजाँच उपसमितिले गरेको छानबिनले सम्झौताभन्दा बढी १२ करोड रुपैयाँ बराबरको नदीजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

विज्ञहरूले यसैका आधारमा पनि आइई रिपोर्टमाथि आशंका गरेका हुन् । अर्का चुरेविज्ञ डा.विजयकुमार सिंह दनुवारका अनुसार आइई रिपोर्ट मात्र उत्खनन्मा प्रधान नभएको बताउँछन् । नेपालका धेरैजसो ठाउँमा आइई रिपोर्टलाई नै देखाएर उत्खनन् हुने गरेको बताउँदै उनले कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको बताए ।

उत्खनन् रोक्न राजनीतिक दलहरू एकजुट
रातु नदी उत्खनन्विरुद्ध राजनीतिक दलहरू एकजुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले नदी उत्खनन् गरेको भन्दै उनीहरू संरक्षणको पक्षमा उभिएका हुन् । गत ६ पुसमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमतसहित दलले नगरले अवैध ढंगले गरेको उत्खनन् रोक्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।

उत्खनन्को मुद्दा अदालतमा विचाराधीन
अघिल्लोपटक अर्थात् आर्थिक वर्ष २०७७/७८ मा लगाएको ठेक्काकै कारण अहिले ठेक्का लगाएका खण्डहरु विवादित छन् । वातावरणीय प्रभाव मूल्यांकनअनुसार २०७८ सालमा रातु नदीका किसाननगर, पथलैया, जुरेटोल र फूलवारी टोल खण्ड गरि ४ खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएको थियो ।

तर, नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएको उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा १ लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट १ लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन् गरेको थियो ।

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रालिले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा १ लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रालिले पथलैया खण्डबाट सम्झौता गरेभन्दा २ लाख ९९ हजार ८४५ घनमिटर उत्खनन् गरेको छ ।

पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको २ करोड ६१ लाख रुपैयाँ राजस्व नगरलाई दिन बाँकी छ ।

शिवम् कन्स्ट्रक्सनले २ करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले ४ करोड ७८ लाख रुपैयाँ दिन बाँकी देखिएको छ । हरेक खण्डबाट ४ दशमलव ५२ रुपैयाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो ।

ढुंगा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेत धज्जी उडाउँदै उत्खनन् भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

जनकपुर उच्च अदालतमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा नगरले लगाएको ठेक्काको वैधतामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द हुन्छ : नगरप्रमुख क्षेत्री

नदी उत्खनन् विषयमा नगरप्रमुख प्रल्हाद क्षेत्री भने मापदण्डविपरीत नभएको बताउँछन् । यदि मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द उनले बताए । रातु नदीमा भइरहेको उत्खनन्लाई लिएर जिल्ला समन्वय समिति महोत्तरीले समेत आपत्ति जनाएको छ । उत्खनन्का क्रममा मापदण्डविपरीत देखिएपछि समितिले तत्काललाई उत्खनन् गर्न रोक समेत लगाएको छ ।

अघिल्लोपटक भएको उत्खननको नापजाँच नगरी पुनः उत्खनन् गर्न खोजे त्यसलाई रोक्ने समन्वय समितिले जनाएको छ । गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्खनन् गर्न ठेकेदारहरू गएपछि समन्वय समितिले रोकेको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH