कमला सिँचाइको परवाहा शाखा नहर अध्यक्षमा सुजित मिश्र निर्वाचित

२०८० माघ २६, शुक्रबार २१:०५
कमला सिँचाइको पश्चिम नहर प्रणालीअन्तर्गतको परवाहा शाखा नहरको जलउपभोक्ता समिति अध्यक्षमा निर्वाचित सुजित मिश्रसहितका व्यक्ति विजयोत्सव मनाउँदै । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, २६ माघ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत पश्चिमी नहर प्रणालीको परवाहा शाखा नहरको जलउपभोक्ता समितिका अध्यक्षमा सुजितकुमार मिश्र निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी मेथुर चौधरीलाई ६३ मतको अन्तरले पराजित गर्दै मिश्र विजयी भएका हुन् ।

कमला सिँचाइको पश्चिमी नहर प्रणाली धनुषा जिल्लामा छ । अध्यक्षमा निर्वाचित मिश्र नेपाली काँग्रेसका मधेश प्रदेश प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ धनुषाका पूर्वअध्यक्ष हुन् ।

परवाहा शाखाअन्तर्गतका १५ प्रशाखा कार्यसमितिका पदाधिकारी एवम् सदस्य गरी ११ जनाका दरले एक सय ६५ मतदाता रहेको निर्वाचनमा अध्यक्षमा विजयी मिश्रले एक सय ११ र सोही पदका प्रतिस्पर्धी चौधरीले ४८ मत हासिल गरेका थिए ।
समितिका उपाध्यक्षमा प्रदीपकुमार यादव, सचिवमा सुरेन्द्रकुमार मण्डल र कोषाध्यक्षमा श्यामकुमार यादव विजयी भएका छन् ।

त्यस्तै समितिका पुरुष सदस्यहरूमा अलिमोहम्मद राइन, सूर्यनाथ यादव, रामविलास यादव, जगदीश यादव, मोहन मण्डल

धानुक, अब्दुल नदाफ र बलराम यादव तथा महिलातर्फ निर्मलादेवी दास, सकुनीदेवी गडेरी, फुलकुमारी देवी दनुवारनी, सोनावतीदेवी यादव र प्रेमशीला देवी जितेका छन् ।

यसैगरी मूल समितिका लागि पुरुषतर्फ शेषनारायण यादव र हरिकिशोर यादव तथा महिलातर्फ जीबछी देवी निर्वाचित भएका छन् ।

जिल्लाको डुमरियाबाट परवाहासम्मको २२ किलोमिटर दुरी रहेको परवाहा शाखा नहरबाट छ हजार बिघा जग्गामा सिँचाइ हुँदैआएको छ ।

सोह्र वर्षपछि कमला नहर प्रणालीमा जलउपभोक्ता समितिहरूको निर्वाचन प्रक्रिया अघि बढेको छ । परवाहा शाखा नहर समितिको निर्वाचनपूर्व यसका विभिन्न १५ वटा प्रशाखामा कार्यसमिति गठन गरिसकिएको थियो ।

समितिहरूको पदावधि चार वर्षको हुनेछ ।

कमला सिँचाइ व्यवस्था कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्र यादवले एक वर्षको तयारीपछि जलउपभोक्ता संस्थाहरूको निर्वाचन अगाडि बढाइएको र पश्चिम नहर प्रणालीका थप शाखा नहर समितिको चुनावपछि मूल समितिको निर्वाचन गरिने बताए । उनले फागुन मध्यसम्म मूल नहर प्रणालीको जलउपभोक्ता समितिको निर्वाचन सक्नेगरी कार्य अघि बढाइएको जानकारी दिए ।

उपभोक्ताबीचको राजनीतिक तथा व्यक्तिगत लडाइ र कमला सिँचाइ व्यवस्थापन कार्यालयका अघिल्ला प्रमुखहरूको हेलचेक्रयाइँका कारण वर्षौंदेखि अवरुद्ध जलउपभोक्ता समिति निर्वाचनपछि प्रमुख यादवले चुनावी कार्यमा खटिएका सबैलाई धन्यवाद दिएका छन् ।

जिल्लाको डुमरियाबाट परवाहासम्मको २२ किलोमिटर दुरी रहेको परवाहा शाखा नहरबाट छ हजार बिघा जग्गामा सिँचाइ हुँदैआएको छ ।

बाँध, कुलो, नहर र सिँचित क्षेत्रका लागि पानी वितरण प्रणालीको निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनमा सहभागिता र तिनका लागि स्रोत संकलन तथा उपयोग गर्नुका साथै सिँचाइ जलउपभोक्तालाई प्रभावकारी र समानुपातिक ढंगले जलवितरण गर्नु आदि जलउपभोक्ता संस्थाहरूको उद्देश्य हुन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH