बालिका बलात्कार गर्ने १९ वर्षपछि खोरमा
सुनसरी, २६ माघ ।
सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र–१ का अर्जुन विश्वकर्मा छन् । विश्वकर्मालाई धरान–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
विश्वकर्मालाई २०६१ मंसिर २३ गते १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दण्डसजाय तोकिएको छ । करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।
पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
(न्युज कारखाना)