मधेशको घुर : कहिल्यै नछेकिने र नरोकिने अद्भूत कार्य

२०८० माघ २७, शनिबार ०८:२१
जाडो छल्न घुर ताप्दै तराईमधेसका बासिन्दा । तस्बिर : सामाजिक सञ्जाल

सत्येन्द्रलाल कर्ण

जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस–माघ महिनातिर मधेस–तराईका मधेसीबहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ । घुर तापिरहेका मधेसी गाउँलेहरूका मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्यतथ्यलाई उपेक्षा गर्न सरकार र नागरिक समाजका लागि असम्भव छ ।

मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ । अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन् । जिउ तताउने र तङ्ग्राउने एवम् समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटनाकथाहरू र सामाजिक अनुभवका कुरालाई अर्थ्याउने कार्य आम मधेसीहरूको जीवनको एउटा प्रमुख हिस्सा र मुद्दा बनेको छ ।

लेखक

कोही–कोही महिला र पुरूष, बालबालिका, वृद्धवृद्धा र युवायुवतीले मैलोझुत्रे, च्यातिएको, जिउसमेत छोप्न नसक्ने तथा शीतलहर र जाडो छल्न नसक्ने खालका मलिन पहिरनमा जब घुरासामु बस्दछन् र आफ्नो जिउलाई तताएर जिउधनलाई संरक्षण गर्न खोज्दछन्, तब तिनीहरूको भविष्यका बारेमा चिन्ता गर्ने कुनै सरोकारवालाले तिनीका बारेमा के सोच्दछन् र के गर्दैछन् भन्ने कुरातिर ध्यानाकर्षण हुनुलाई मानवीय स्वभाव नै मान्न सकिन्छ ।

घुरा ताप्दै बस्दै गरेका र आफ्नो ढाड सेक्दै गरेका समूहहरूले जिउ तताउने, तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका ज्ञान र गुणलाई घुरा वरिपरि बसिरहेका सहभागीहरूसँग सहजीकरण गरिरहेको भेट्टाउन सकिन्छ । जीवनका सुखदुःख एकअर्कासँग साट्ने ठाउँका ‘घुर’ निर बसेका सेवाग्राही पात्रहरू अनौठो किसिमबाट आफ्नो मनका पीडा र खुसीहरू साटासाट गरिरहेका भेटिन्छन् ।

विपन्न र सम्पन्न सहभागीहरूले त्यसबारे आआफ्ना प्रतिक्रिया जनाउँदछन् । कसैको घरको भान्सामा कसले भात पकाउँछ, कसले गाई चराउँछ, कसले भैंसी चराउँछ, कसलाई हलो जोत्न आउँछ, कसका छोराछोरी विदेश गएका छन् आदि इत्यादि प्रसंगहरूमा खुलस्त रूपमा बहस हुन्छ । त्यतिमात्र हैन, ठाउँका ठाउँ घर झगडा मिलाउने, घर झगडा लगाउने, अंशबन्डा गर्न लगाउने, सासु–बुहारीको कुरा मिलाउने, छरछिमेकमा कोही बिरामी भए त्यसलाई उपचार गराउने लगायतका सामाजिक कार्यको बाँडफाँट गर्ने उत्तरदायित्व पनि घुरा ओगटेर बस्ने त्यहाँका ठूलाबडाहरूकै सरोकारको विषय हुन्छ ।

घुरा नजिक बस्दै नबस्ने र घुर सल्काउन नजान्ने व्यक्तिहरूलाई घुराप्रेमी समाजको आँखाको कसिङ्गर बन्न बेर लाग्दैन । संसदभित्र जसरी शून्य समयमा सांसदहरूले देश र जनताका समस्याहरू उठाउन चासो लिएका हुन्छन्, त्यसरी नै घुरछेउमा दोसल्ला ओढेर घोसेमुन्टे लागाएर कठ्याङग्रिँदो जाडोबाट बच्न ओत लागेका गरिबहरूले पनि हाकाहाकी घुरा ताप्ने सामन्तहरूसँग सवाल–जवाफ गर्न पाउँछन् ।

घुरा ताप्नेहरूले कुनै किसिमको हडबड नगरी फुर्सदिलो मनले घुराभित्रको ताप त ऊर्जालाई आफ्नो जिउको रगत त नशा–नशामा महसुस गर्दछन् र मनभित्रका उकुसमुकुस र समाजभित्रका थिचोमिचोलाई बडो निडर मनले उठाउँदछन् । घुरा फुक्दै र खोतल्दै बडो आनन्दसँग सबै उमेर, तह तप्काका ऊर्जाशील प्राणी समूह र समुदायसँग भलाकुसारी गरेर रमाउँदछन् तथा प्रशिक्षण प्राप्त गर्दछन् । भवितव्यहरूलाई पर्दाफास गर्दछन् । सरकार नालायक भएकोमा दुखेसो र आक्रोश पोख्दछन् । घुर दन्किरहँदासम्म घुरा ताप्नेहरूको धित मर्दैन तर घुराको आगो निभ्नेबित्तिकै सबै घुराप्रेमीहरू आआफ्ना ठाउँमा फर्किन्छन् । यो एउटा नियमित प्रक्रियाझैं जाडोयामभरि सधैं चलिरहन्छ ।

कहिलेकाहीँ घुरबाट सल्केको आगोले घुरा ताप्नेहरुका लुगाफाटा पनि जल्न सक्छन् । घर र गाईगोठमा आगलागीका घटना हुने जोखिम पनि रहन्छ । सतर्कता नगरे ठूलो धनजनको हानी पनि हुन सक्ने घटना घटिरहन्छन् । तर, प्रायःजसो घुरा ताप्ने कार्यलाई निरन्तरता दिइरहनेहरूले कुनै किसिमको आर्थिक नाफा नोक्सान हुन्छ भन्ने ठान्दैनन् ।

घुरा ताप्नु निरर्थक कार्य हो, यसले मानिसलाई निस्क्रिय र अल्छी बनाउँछ । यसले अरूको डाहा गर्ने, खेदो गर्ने र कुरा काट्ने कार्य मात्र गर्दछ । घुरा ताप्नेहरूको संगत गर्दा असल संस्कारको विकास हुन सक्दैन भन्ने किसिमबाट तर्कहरू पनि गर्न सकिने धेरै ठाउँहरू हुन्छन् । तर, त्यस्ता कुराहरुमा घुरा ताप्नेहरूको कुनै चासो हुँदैन । गंगाजीमा मरेका भ्यागुताहरू, बकुल्लाहरू र कुकुर–बिरालाहरू पानीमा बगिरहँदा पनि त्यसले गंगाजीको पानीलाई अलिकति पनि दोष लगाउँछ भन्न मिल्दैन ।

नेपालको संविधानमा लेखिएको ‘समाजवाद’बाट घुरा ताप्ने वर्गहरू वन्चित रहे पनि घुरा ताप्ने अक्षरजीवी र श्रमजीवीहरूको अज्ञानता र विज्ञता दुवै समाजका लागि प्रत्युत्पादक र घातक रहेको कुराबारे यिनीहरूले सजिलै ठम्याउन सक्दछन् । सरकारले घुर ताप्ने समाजलाई फुकेर फुलाउन नसक्ने र थिचेर सिध्याउन नसक्ने हुनाले घुरा ताप्नेहरूले सरकारलाई ठूलो चुनौती दिन सक्छन् भन्ने कुराहरूबारे अनुमान लगाउन सक्ने प्रशस्त ठाउँहरू छन् । सरकारले के गर्दैछ, मन्त्रीहरू कहाँ बस्छन् ? आफ्ना छोराछोरीलाई कहाँ लगेर पढाउँदैछन् ? बैंक ब्यालेन्स र घरघडेरीहरू कसरी जोड्दैछन् ? ठेक्कापट्टा र लाभदायक पदहरूमा आफ्ना नातागोता र वफादारहरूलाई कसरी छिराउँदैछन् भन्ने कुराहरूमा यिनीहरू पनि बुझ्ने हुन्छन् ।

घुर ताप्नेहरू पुस्तौं पुस्तादेखि वञ्चितीकरणमा परेका छन् । यिनीहरू सही अर्थमा सर्वहारा हुन्छन् । यिनीहरू कांग्रेसको संगतमा परेपछि कांग्रेस र कम्युनिस्टको संगतमा परेपछि कम्युनिस्ट बन्दछन् । यिनीहरू व्यर्थको राजनीतिमा कुनै चासो राख्दैनन् । डाँडाकाँडा चहारेर देशको समग्र वस्तुस्थिति बुझ्ने बारेमा पनि यिनीहरूसँग जुक्ति हुँदैन ।

दुनियाँले यिनिहरूलाई सुद्धिबुद्धि नभएका मानिस ठान्दछन् तर यथार्थमा उनीहरू पनि आआफ्ना ठाउँमा सर्वज्ञ र शक्तिशाली नै हुन्छन् । उनीहरू पनि आ–आफ्ना ठाउँका जल, जमिन, जङ्गल र प्राकृतिक स्रोतसाधनका विशेषज्ञ हुन्छन् । खेतबारी र पशुपालन कसरी गर्ने भन्ने सम्बन्धमा यिनीहरूसँग धेरै ज्ञान र जानकारी हुन्छ । सरकारले यिनीहरूलाई नहेरे पनि सरकारका हरेक गतिविधि र क्रियाकलापबारे यिनीहरूले आफ्ना रायसुझाव दिन सक्छन् ।

मधेस–तराईतिरको घुरसंस्कृति एक किसिमबाट चार वर्ण र छत्तीस जातको फूलबारी नै हुन्छ । सरकारलाई समेत गाली गर्न, प्रतिवाद गर्न तथा सराप्ने कार्यमा यिनीहरू कुनै नेताभन्दा कम आफूलाई ठान्दैनन् । तर, सरकारले यिनीहरूलाई नटेरे पनि यिनीहरूको मनभित्र हार्दिकता र संवेदनशीलताको संगम हुन्छ । सरकारका मन्त्रीहरू तथा राजनीतिक दलहरूसँग यिनीहरूको राम्रो सहकार्य हुन सक्दछ । घुर ताप्ने समाज र संस्कृतिभित्र मानवताको महासागर भेट्टाउन सकिन्छ ।

घुरा ताप्ने असल घुराप्रेमीहरू जति महान् हुन्छन् त्यति नै उनको घरअगाडि सल्काइएको घुरको आकार तथा बनोट ठूलो हुन्छ ।
सरकारको कुनै किसिमको सरसहयोग र अनुदानबिना पनि घुरहरू निर्वाध रूपमा बाल्न सकिन्छ । सरकारी अनुदानको कम्बल र दाउरा पाउन यिनीहरूले मरिहत्ते पनि गर्दैनन् । सरकारले जनकल्याणकारी कार्य गरेन भने आगामी चुनावमा सरकार पक्कै हार्छ भन्ने कुरामा यिनीहरू विश्वस्त हुन्छन् ।

घुर ताप्ने समाजमा हुनुपर्ने समता, समानता तथा समावेशीताको खाँचोलाई कसैले पनि नजरअन्दाज गरेर अगाडि बढ्दछ भने देशमा जनआन्दोलनको देशव्यापी घुर बल्न सक्छ र देश अझ अस्थिर बन्न सक्छ भन्ने कुरामा सबैले विचार पु¥याउनु जरुरी छ । रामवरण यादवदेखि लिएर सिके राउतसम्म र रामसहाय यादवदेखि अमरेशकुमार सिंहसम्मका राजनीतिक धुरन्धर र कुशल खेलाडीहरू यही घुरा ताप्ने समाजका अभियन्ता र अगुवा हुन् । लोकतन्त्रलाई जनताको दलानसम्म पु¥याउन सबैले होस्टेमा हैंसे गर्नु जरूरी छ ।

(लेखक कर्ण उर्लाबारी बहुमुखी क्याम्पस मोरङका सहप्राधापक हुन्)

स्रोत : न्युज कारखाना

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH